पर्वतको एउटै गाउँबाट रु ११ करोडका सुन्तला बिक्री

पर्वत, ११ माघ: नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ ।

अन्यत्र सुन्तलाको सिजन सकिने बेला भइसक्दा यहाँका सुन्तला भने बल्ल बजार पठाउन थालिएको हो । यस वर्ष सुन्तला खरिद गर्न काठमाडौँको कालीमाटी, मुग्लिन, धादिङ तथा नारायणगढका व्यवसायी बाँसखर्कका सुन्तला बगानमा आइपुगेका छन् ।

कतिपय व्यवासयीले थोरै मात्रामा सुन्तला ढुवानी गर्न थालेका छन् भने कतिपय व्यवसायीले किसानसँग सम्झौता गरे पनि सुन्तला टिप्न आइनपुगेको सबैभन्दा बढी सुन्तला बिक्री गर्ने किसान जगतबहादुर खत्रीले बताउनुभयो । बोटमा फल लामो समयसम्म राख्दा अर्को वर्ष कम उत्पादन हुने भएकाले माघभित्रै फल टिपेर लैजान व्यवसायीलाई किसानले आग्रह गरेका छन् ।

गत वर्ष रु १५ करोड भित्र्याएका यहाँका किसानले यस वर्ष भने उत्पादन घटेको बताएका छन् । यस वर्ष रु १० देखि रु ११ करोड आम्दानी हुने अनुमान गरिएको अगुवा किसान खत्रीले बताउनुभयो । गण्डकी प्रदेशकै स्वादिलो सुन्तला उत्पादन हुने वाँसखर्कमा ढिलोगरी सुन्तला पाक्ने भएकाले मूल्यसमेत महँगोमा बिक्री हुने गर्दछ । यहाँका किसानले गत वर्ष बोटबाटै प्रतिकेजी रु एक सय ७० मा बिक्री गरेका थिए भने यस वर्ष रु एक सय ८० मा बिक्री गर्ने तयारी गरेका छन् ।

गत वर्ष सुन्तलाको फल लाग्ने बेला फागुन १५ गते परेको असिनापानीका कारण उत्पादन घटेको किसान खत्रीले बताउनुभयो । खत्रीले गत वर्ष सुन्तला बिक्रीबाट रु ३२ लाख आम्दानी गर्नुभएको थियो । उहाँका तीन सय बोटमा सुन्तला फल्ने गर्दछन् । त्यसैगरी भक्तबहादुर पाइजाले रु २२ लाख र अर्का किसान हेमकुमार अर्मजाले रु २७ लाखको सुन्तला बिक्री गर्नुभएको थियो ।

व्यावसायिकरूपमा सुन्तलाखेती गर्दै आएका यहाँका दुई सयभन्दा बढी परिवारले सुन्तलालाई मुख्य पेसा बनाएका छन् । स्थानीय बजारमारे सुन्तला उत्पादन सहकारी संस्थामा आबद्ध किसानले मकै, कोदोलगायतका बालीनाली लगाउन छाडेर सुन्तलाखेती विस्तार गरेका छन् ।

सहकारीका अध्यक्षसमेत रहनुभएका किसान खत्रीले ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको सुनाउनुभयो । बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन । किसानले धान, कोदो र मकैभन्दा सुन्तलाखेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रूपमा लिँदै आएका छन् ।

“यहाँका किसानले न्यूनतम रु पाँच लाखभन्दा थोरै कमाउने कुनै घरै छैनन्”, अध्यक्ष खत्रीले भन्नुभयो, सबैभन्दा बढी आम्दानी आफूले गर्ने गरेको बताउनुभयो । सुन्तलाकै कमाइले बजारमा घरघडेरी नजोडेका निकै कम छन् । उहाँका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत पाँच वर्षअघि रु ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । तर बोटमै सन्तोषजनक मूल्य पाएपछि शीतभण्डारमा भण्डारण गर्न किसानले चासो देखाउँदैनन् । केही किसानले भेन ग्रेडिङ गरेर बाँकी रहेका सुन्तला शीतभण्डारमा राखेर बेसिजनमा बिक्री गर्ने गरेको स्थानीय कल्पना खत्रीले बताउनुभयो ।

सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार हुँदै आएको छ । यहाँका दुई सयभन्दा बढी परिवार सुन्तलाखेतीमा आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।