यू–१९ विश्वकप

अफगानिस्तानविरुद्ध आकास चन्दको उत्कृष्ट बलिङले नेपाललाई पाँचौं सफलता

काठमाडौं, १२ माघ । आईसीसी यू-१९ विश्वकप खेलमा नेपालले अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले पाँच विकेट लिइसकेको छ।

आकाश चन्दले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । उनले अहिलेसम्म ४ विकेट लिइसकेका छन् । ९.१ ओभरको खेल सकिँदा अफगानिस्तानले ५ विकेट गुमाएर मात्र ३४ रन बनाएको छ ।

नेपालका गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको छ ।

नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित विपिन रावल (विकेटकिपर), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र तिलक भण्डारी छन् ।

दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । यस खेलको विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।