अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा

काठमाडौं, १२ माघ । आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपालले आफूलाई सुपर सिक्समा पुर्याएको छ । अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो । आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनले नेपाल रोमाञ्चक ढंगले सुपर सिक्समा पुगेको हो । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको । जितको लागि अफगानिस्थानले दिएको १४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो । खेलमाआकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनले नेपाललाई जितको ढोका खोलेको हो ।

नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो । खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि नेपालको इनिङ सम्हाल्न चौथो विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए । स्पिनर नासिर खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडे । त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे । दीपेश कँडेल ४ र दीपक डुम्रे ५ रनमा आउट भएका थिए ।

दीपक बोहरा ४२ बलमा ४ चौकासहित २७ रनमा आउट भए । विजयका लागि ६ रन आवश्यक रहेका बेला दीपक बोल्ड आउट भए । आकाश चन्द १ रनमा आउट भए । सुवास भण्डारी २९ बलमा १ चौकासहित ९ रनमा नट आउट रहे ।