एसिडसम्बन्धी कानून १५ दिनमा बनाएँ, कानूनमा थप कडाईका लागि प्रधानमन्त्रीसंग भेटेरै कुरा गर्छु : अध्यक्ष ओली
काठमाडौं। १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एसिडपीडित सम्बन्धी कानून आफूले १५ दिनभित्र बनाएको बताउनुभएकाे छ ।
एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले एसिडपीडित सम्बन्धी कानूनमा थप कडाई गर्नुपर्ने पनि बताउनुभएकाे छ ।
उहाँले भन्नुभयाे, ‘यस कानूनलाई अझै कडाइ गर्नुपर्छ । शीर्ष नेता र प्रधानमन्त्रीलाई भेटेरै कुरा गर्छु । यो कानून ल्याउँदा अहिलेको प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो त्यसैले म फेरि उहाँको ध्यानाकर्षण गराउँछु ।’
उहाँले एसिडको बिक्रीपछि कहाँ प्रयोग भयो भन्ने विषयमा पनि प्रशासनले रिपोर्ट राख्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हाम्रो समाजमा यस्ता घटना हुन नदिन एसिड के प्रयोजनाका लागि कसले, किन, कुन मात्रामा किनेको हो ? प्रयोग भयो कि भएन बाँकी छ भने त्यो फिर्ता गराउनुपर्छ । जोसुकैले जहाँसुकै उपलब्ध नै गर्न नपाउने व्यवस्था गर्नुपर्छ’ ।