नेपाल भ्रष्टाचारको सूचकांकमा १०८औं स्थानमा

काठमाडौं, १६ माघ । व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल १०८औं स्थानमा परेको छ । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको हो ।

नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको हो । गत वर्ष नेपालले ३४ अंक पाएको थियो । एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरुको वरीयताक्रममा दुई अंक अगाडि आएको छ । गत वर्ष ११०औं स्थानमा रहेको नेपाल यसपाली १०८औं स्थापनमा पुगेको हो ।

५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रुपमा चित्रण गरिन्छ । ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ ।

सूचकांकमा यस वर्षको औसत अंक ४३ रहेको छ । एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।

विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भने दक्षिण अफ्रिकी देश सोमालिया परेको छ । १८० देश सम्मिलित सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ ।