केपी ओली सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं, १६ माघ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता भएको बताउनुभएकाे छ ।
मंगलबार काठमाडौंमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्नुहुँदै उहाँले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रूपमा रहन सक्ने नेता भएको बताउनुभएकाे हाे ।
ओलीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
लाेकार्पित उक्त पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिकासमेत उजागर गरेको उहाँले बताउनुभएकाे छ ।
पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पतिको रूपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने बताउनुभयाे ।