यू-१९ विश्वकप : नेपालले बंगलादेशविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं, १७ माघ । आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपालले बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ ।

दक्षिण अफ्रिका जारी विश्वकपमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ ।

नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ ।

नेपाल सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भए पनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

नेपाल समूह डी मा पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई भने १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।