पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नीलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय

काठमाडाैं, १७ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ ।

राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि यो फैसला आएको हो ।

पीटीआईका संस्थापक तथा पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नीलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गरिएको छ भने उहाँलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत गरिएको छ ।

एआरवाई न्यूजका अनुसार बुधबारको सुनुवाईमा पीटीआईका संस्थापक बीबीलाई अदालतमा पेश गरिएको थियो । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ताले भन्नुभयो, “हाम्रो न्यायिक प्रणाली लाई भत्काइँदैछ । यो पाकिस्तानको इतिहासमा अर्को दुःखद दिन हो ।”

गत अगष्टमा पक्राउ परेदेखि अधिकांश समय हिरासतमा राखिएको जेलभित्र भएको सुनुवाइपछि खानको सजाय लगातार वा सँगसँगै चलिरहने हो वा होइन भन्ने स्पष्ट हुन सकेको छैन ।

खानका वकिल सलमान सफदरले पनि एएफपीसँग कुरा गर्दै खान र उहाँकी पत्नी बुशरा बीबीलाई सजाय सुनाइएको पुष्टि गर्नुभएको छ ।

“खान र उहाँकी पत्नी बीबीलाई सजाय सुनाइएको छ । बीबीलाई अहिलेसम्म पक्राउ गरिएको छैन,” सफदरले भने। उहाँहरूको सन् २०१८ मा खान प्रधानमन्त्री निर्वाचित हुनुभन्दा केही महिनाअघि विवाह भएको थियो ।

करिब १२ करोड ७० लाख पाकिस्तानीले आगामी बिहीबार हुने चुनावको दिन मतदान गर्न पाउनेछन्, जसमा खान र पीटीआई बहसको केन्द्रमा रहेका छन् ।

खानले आफ्नो कार्यकालको अधिकांश समय साझेदारीमा शासन गरेको शक्तिशाली सेनामाथि अमेरिका समर्थित षडयन्त्रमा आफूलाई सत्ताच्युत गरेको आरोप लगाएको थियो ।
गत वर्षको मे महिनामा खानलाई पहिलो पटक पक्राउ गर्दा देशभर दङ्गा भड्किएको थियो ।