‘क्यालिजात्रा’सँग उपमेयर सुनिताको साइनो र लोपोन्मुख अक्षरहरूको संस्थाले दिएको पहिचान
काठमाडौं । सुनिता डंगोल अहिले काठमाडौं महानगरपालिकाकी उपप्रमुखका रुपमा बढी परिचित हुनुहुन्छ । तर, पूर्व मिस नेवाः समेत रहनु भएकी डंगोलको खास परिचय उपप्रमुखमा मात्रै सिमित छैन । उहाँको परिचय ‘क्यालिजात्रा’सँग पनि जोडिएर आउँछ । कुनै समय लिपि क्वीनको नामले चिनिने डंगोल काठमाडौं महानगरपालिकाको उपप्रमुख बन्नु अघि रञ्जना लिपिको प्रशिक्षक हुनुहुन्थ्यो । कोभिड–१९ का कारण लामो समय लकडाउन व्यहोर्न बाध्य धेरैलाई उहाँले ‘भर्चुअल’ माध्यमबाट रञ्जना लिपि सिकाउनु भएको थियो ।
उपमेयर बन्नुअघि देखिनै लिपिका बारेमा विशेष रुचि राखदै आउनु भएकी डंगोल अहिले उहाँहरुले नै अभियानका रुपमा अघि बढाएको ‘क्यालिजात्रा’ ले अन्तराष्ट्रियस्तरमा समेत पहिचान बनाएपछि थप उत्साहित बन्नुभएको छ ।
‘क्यालिजात्रा’ भन्ने वित्तिकै धेरैलाई यो नौलो जस्तो लाग्न सक्छ । हो, झट्ट सुन्दा नौलो जस्तो लाग्ने ‘क्यालिजात्रा’ अहिले अन्तराष्ट्रियस्तरमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ । लोपोन्मुख अक्षरहरूका क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रिय संस्था Endangered Alphabets ( इनडेञ्जर्ड अल्फाबेटस्, लोपोन्मुख अक्षरहरू)ले ‘क्यालिजात्रा’ लाई अन्तराष्ट्रियस्तरमा मौलिक लिपिहरुलाई पुनर्जागरण गर्ने अभियानमा योगदान गरेको भन्दै पहिचान गरेको छ । Endangered Alphabets ले भर्खरै अर्थात सन् २०२४ मा ‘क्यालिजात्रा’ लाई पहिचानको प्रमाणपत्र दिएपछि फेरि ‘क्यालिजात्रा’को चर्चा चुलिएको छ । त्योसँगै ‘क्यालिजात्रा’ को अभियानलाई अन्तराष्ट्रियस्तरमा पहिचान बनाउन लामो समय योगदान गर्नुभएकी उपप्रमुख डंगोलमा खुशी छाएको छ ।
कुनै समय लिपि गुथिले रञ्जना लिपिका बारेमा कक्षा कोठामा राखेर सिमित व्यक्तिलाई सिकाउने गर्थो । त्यहि कक्षा कोठामा लिपि सिक्न पुग्नु भएकी डंगोललाई त्यसैबेला लिपिलाई कक्षा कोठामा मात्रै सिमित गर्नु हुँदैन भन्ने हुटहुटि बढेर आयो ।
त्यतिबेला डंगोलसँगै आनन्द महर्जन (डिजाइनर) लगायतको टिम कक्षामा सिकेका कुरा कसरी धेरैका बिचमा र खुला ढंगले अघि बढाउन सकिन्छ भनेर योजना बनाउन थाल्यो । पुरानो तरिकाले कक्षा कोठामा सिमित मान्छेहरुलाई मात्रै सिकाएर लिपी सिकिँदैन भन्ने निष्कर्षमा पुगेपछि डंगोल, महर्जनलगायतको टिमले नयाँ ढंगले लिपि सिकाउने सोँच बनायौँ र त्यसलाई अभियानकै रुपमा अघि बढायो । ‘क्यालिजात्रा’ त्यहिबाट सुरुभयो ।
नेपाल भाषा झट्ट सुन्दा एउटै लागे पनि कतिपय शब्द र उच्चारण ठाउँ अनुसार फरक हुन्छन् । उपत्यकाकै पनि काठमाडौं र भक्तपुर बोलिने भाषा समेत एकै छैन । अझ उपत्यका बाहिरको कुरा गर्ने हो भने नेपाल भाषामा विविधता देखिन्छ । नेपाल भाषाको विविधताबारे उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिरका पनि दजनौं ठाउँहरुमा पुगेर वर्कसप चलाउने उदेश्यले २०७५ साल वैशाख १ गतेबाट उप्रमुख डंगोलसहितको टिमले ‘क्यालिजात्रा’ को सुरुवात गरेको थियो । ‘नेपाल लिपि गुथीमा हामीले केही समय मौलिक लिपीहरु जस्तै रञ्जना लिपी, नेपाल लिपि सिक्यौँ,’ ‘क्यालिजात्रा’ को सुरुवातबारे जानकारी लिदाँ डंगोलले भन्नुभयो, ‘अब कक्षा कोठामा मात्रै बसेर सिकाउने होइन । कक्षा कोठामा मात्रै सिकाउँदा कक्षा कोठामा पुगेर सिक्नेहरुले मात्रै सिक्ने भए अरुले थाहा नपाउने भए भनेर हामीले अरुलाई पनि सिक्ने महत्वकांक्षा जगाउन यो अभियान सुरुवात गरेका हौँ ।’
डंगोलसहितको टिमले लिपि सिक्न कक्षा कोठामा आउँछ भनेर कुरेर बस्नु हुँदैन अब हामी नागरिकको घर, चोक, टोल र सडकसम्म जानुपर्छ भनेर सार्वजनिक ठाउँमा समेत वर्कसपहरु गर्न थाल्यो । सुरुका केही समय त उनीहरुले कहिले चोकमा कहिले बहालमा त कहिले कहिले सडकको विचमा अनि कहिले सम्पदा क्षेत्र वरपर वर्कसपहरु चलाउन थाले । ‘हनुमानढोका दरबार, पाटन दरबार क्षेत्रगायतका स्थानमा पनि हामीले खुला ठाउँमा वर्कसप गर्यौ । हामीले असनचोकमा पनि वर्कसप गर्यौ,’ ती दिनको सम्झना गर्दै डंगोलले भन्नुभयो, ‘विस्तारै नागरिकहरुको चासो बढ्न थाल्यो । हामीले खुला ठाउँमा गरेका वर्कसपहरुमा सिक्ने मानिसहरुको चासो बढ्न थाल्यो र भीड पनि बढ्न थाल्यो । हामी विस्तारै उत्साहित हँुदै गयौँ ।’
डंगोलहरुको अथक मेहनतले विस्तारै आकार लिनथाल्यो । त्यसको प्रभाव काठमाडौं उपत्यकाबाट बाहिर पुग्नथाल्यो । उनीहरु विस्तारै विभिन्न जिल्ला–जिल्ला पुग्न थाले अनि खुलाठाउँमा त्यस्ता वर्कसप गर्न थाले ।
‘काठमाडौं उपत्यकाको टोलटोलबाट सुरु भएको अभियान उपत्यकाका चोक र सडक अनि देशैभरी हुँदै ती वर्कसपका भिडियो र तस्बिरहरु अन्तराष्ट्रियस्तरसम्म पुगे र त्यसको प्रचार–प्रसार अन्तराष्ट्रियस्तरसम्म हुनथाल्यो,’ डंगोलले खुशी हुँदै भन्नुभयो, ‘हाम्रो त्यो अभियानलाई ६० वर्ष पहिलादेखि अक्षरमा काम गर्ने अभियन्ताहरुको अन्तराष्ट्रिय संगठन (अन्तराष्ट्रिय टाइपोग्राफी संघ) ले समेत पहिचान गर्यो । नेपाल जस्तो देशमा त्यो पनि स्वयंसेवी ढंगबाट यस्तो काम गरिरहेका रहेछन् भन्ने थाहा पाएर हामीलाई उनीहरुले उनीहरुको विविधताको कोषमा सूचिकृत गरेर सन् २०१९ मा हामीलाई छनोट गर्यो ।’
कक्षाकोठाबाट सुरु भएको अक्षरहरुको पहिचान गराउने अयिभान ‘क्यालिजात्रा’ काठमाडौंका घर, चोक, टोल सडक हुँदै देशभरी र अन्तराष्ट्रियस्तरमा पनि पहिचान बनाउन सफल भयो । अनि डंगोलहरुको टिम पनि उत्साहित हुँदै गयो ।
अन्तराष्ट्रिय टाइपोग्राफी संघकै आयोजनामा सन् २०१९ मा डंगोल र महर्जन ‘क्यालिजात्रा’ को सम्मेलनमा जापान पुगेर रञ्जना लिपि र नेपाली लिपिका बारेमा अन्तराष्ट्रियस्तरमा बुझाउन सफल भए । ‘त्यो सम्मेलनमा हाम्रो देश नेपालमा रञ्जना लिपी र नेपाल लिपीको स्वर्णिम इतिहासबारे जानकारी गराउने अवसर प्राप्त गर्यौ,’ महर्जनले भन्नुभयो, ‘हामीले त्यहाँ हाम्रो अक्षर विर्सिनु हुँदैन भनेर इतिहारबारे बताएपछि उनीहरु थप उत्साहित भए । शिलालेख र ताम्रापत्रहरुमा नेपाल लिपी र रञ्जना लिपीको प्रयोग भएकोबारे पनि हामीले जानकारी गराउँदा उनीहरु थप उत्साहित भए ।
डंगोल र महर्जनले जापान सम्मेलनमा औषधि उपचारदेखि घर बनाउने तरिकासम्म अनि मठ–मन्दिरको नक्शामा समेतमा रञ्जना र नेपाल लिपि प्रयोग भएकोबारे जानकारी गराएका थिए ।
उनीहरु जापानको सेमिनारमा जाँदा पनि रञ्जना लिपि हातले मात्रै लेख्ने चलन थियो रे । ‘त्यहाँ हामीले युनिकोडसँगै देवनागरिक लिपी र रञ्जना लिपीको एपको पनि विकासबारे पनि छलफल गर्यौ,’ डंगोलले भन्नुभयो, ‘केही हदसम्म सफल भएका छौँ । हामी ठाउँ–ठाउँमा गएर लिपीलाई पुनर्जागरण गर्ने काम गरिरहेका थियौँ । अहिले क्यालिजात्राले प्राप्त गरेको पहिचान त्यसैको प्रतिफल हो भन्ने लागेको छ ।’
पहिला सुरुसुरुमा लिपिका बारेमा आफूलाई मन लाग्नेहरु मात्रै गएर पढ्ने, सिक्ने चलन थियो । त्यतिबेलासम्म पनि कक्षा कोठामा मात्रै बसेर सिक्ने चलन थियो विस्तारै त्यो अभियानलाई खुला ठाउँमा ल्याउने प्रयाससँगै उनीहरुले खुलाठाउँमा कक्षाकोठा बनाए ।
त्यसपछि समूह पनि बढ्दै गयो । इञ्जिनियर, फोटोग्राफर, डिजाइनर सबैले त्यो प्रयोग गर्न थाले र यस्ले विस्तारै ठूलो आकार लिन थाल्यो । कतिपयले विस्तारै लिपीको टिसर्ट, औँठी, कुण्डल लगाउने चलन पनि बढ्न थाल्यो । विस्तारै लिपीको व्याग बोक्नेहरु पनि बढ्न थाले । त्योसँगै डिजाइनरहरुले पनि त्यो लिपीको प्रयोग गर्न थाले । ‘हामीले गरेको कामले अन्तराष्ट्रियस्तरमा पनि पहिचान छाड्न सफल भएको रहेछ भन्ने हुँदा अहिले थप उर्जा प्राप्त भएको छ,’ डंगोलले भन्नुभयो, ‘यस्ले अन्तराष्ट्रियस्तरमा पनि यस्को पनि मौलिक लिपीको संरक्षण, प्रवद्र्धन र पुर्नस्थापना गर्नका लागि एउटा खुड्किलो बढाएको छ ।’