कोशीका नेताहरुलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, २२ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश ऐन संशोधन गरी सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा सोमबार रिट निवेदन दर्ता गरेका हुन् । उनीहरुले संविधान विपरीत जारी भएको अध्यादेश खारेजीको माग गरेका छन् ।
कोशी सरकारले हालै प्रदेशसभाका पदाधिकारीहरुको संख्या थप गर्ने गरी केही प्रदेश ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याएको छ ।
उक्त अध्यादेशमार्फत ऐन संशोधन गरी सत्तारुढ सबै दलका संसदीय दलका नेता र विपक्षमा रहेका दलको संसदीय दलका नेतालाई पनि प्रदेश सभाको पदाधिकारी किटान गरिएको छ ।
प्रदेश सभामा २९ सदस्य रहेको कांग्रेसका ८ जना सांसदले विद्रोह गरेपछि एमालेको समर्थनमा कार्की गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए।