वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्यामा अघिल्लो बर्षको भन्दा ६७ हजार ६ सय ७३ ले कमी

काठमाडौं, २३ माघ । नेपाल राष्ट्र बैंकले वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी तथ्याङ्क जारी गर्दै राष्ट्र बैंकले यो जानकारी दिएको हो ।

तथ्याङ्क अनुसार आयात ३.१ प्रतिशत र निर्यात ७.२ प्रतिशत रहेको छ । त्यसैगरी कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको तथ्याङ्कमा उल्लेख छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको उल्लेख छ ।

त्यसैगरी शोधनान्तर स्थिति रु.२ सय ७३ अर्ब ५२ करोडले बचतमा रहेको देखाइएको छ भने कुल विदेशी विनिमय सञ्चिति रु.१ हजार ८ सय १६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.५ सय ६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु.४ सय ९६ अर्ब ५० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको उल्ल्ेख छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ ।

तथ्याङ्क अनुसार २०८० पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २४९ रहेको थियो । २०७९ पुस मसान्तमा २१४९.३९ रहेको नेप्से सूचकाङ्क २०८० पुस मसान्तमा २१२०.६२ कायम भएको छ ।
त्यसैगरी चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २७५,६४३ र १४२,५४८ रहेको थियो ।