नेप्से समान्य अंक बढ्याे, ५ स्टक सर्किट लेभलमा

काठमाडाैं, २४ माघ । बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएकाे छ भने ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन नेप्से परिसूचक ४.९२ अंक बढेर २०९०.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ।

यस दिन गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन पिपुल्स पावर र इंगवा हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य यस दिन सर्वाधिक ५.२५ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ५९ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१३ स्टकको ६५ हजार ४६३ पटकको कारोबारमा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावरको साढे ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।