नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रूपैयाँ घुससहित पक्राउ

काठमाडाैं, २४ माघ । नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र ‘राजधानी लेखापढी सेवा’का कर्मचारी नेत्रमणी पोखरेललाई घुस लिँदै गरेकाे अवस्थामा पक्राउ परेकाे हाे ।

दुई जना मिलेर जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

उनीहरूले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।