नेपाली जनताको समृद्धिको आकाङ्क्षालाई मूर्तरुप एमालेले दिन्छ : अध्यक्ष ओली

रौतहट, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको समृद्धिको आकाङ्क्षालाई एमालेले पुरा गर्ने बताउनुभएकाे छ ।

नेकपा एमाले रौतहटले गरुडामा आज आयोजना गरेको १०औँ जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, समृद्ध नेपाल निर्माणको सपना आफ्नो दल नेकपा एमालेकाे परिकल्पना हाे । त्यसलाई साकार पार्न मात्र नभइ समाजका अन्य वर्गको पनि सक्रिय सहभागिता अपरिहार्य भएको उहाँले बताउनुभयाे ।

नेपाली जनताको समृद्धिको आकाङ्क्षालाई मूर्तरुप दिन आफ्नो दलको एकल सरकार आवश्यक भएकाले आगामी निर्वाचनमा त्यो चाहना पूरा गर्न पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताले आ-आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेको बहुमतको सरकार भएपछि मात्र उनीहरूका विकासका चाहना पूरा हुने दाबी गर्नुभयोे । उहाँले पार्टी कार्यकर्तालाई सेवा भावनाका साथ काम गर्न निर्देशन पनि दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि ओलीलाई रौतहटका जनताले एक सय एक किलोको मालाले स्वागत गरेका थिए । एमालेको १० औँ जिल्ला अधिवेशन शुक्रबारसम्म चल्ने छ । उक्त अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएकाे थियाे ।

कार्यक्रममा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, कोशी प्रदेश इञ्चार्ज रघुुवीर महासेठ, पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य र गरुडा नगरपालिकाका प्रमुख कन्तमणि जयसवाललगाय नेताको सहभागिता थियो । अधिवेशनले रौतहट जिल्लामा नयाँ कार्यसमिति चयन गर्नेछ ।