प्रहरीमा जवानदेखि खेलाडीसम्म भर्ना खुल्यो, दरखास्त फागुन २ गतेदेखि चैत ९ गतेसम्म दिन सकिने

काठमाडौं, २६ माघ । नेपाल प्रहरीकाे प्रहरी जवानदेखि खेलाडीसम्म भर्ना खुलाएकाे छ। प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो।

कार्यालयले जवान पदमा १ हजार ८५६ जना भान्छे ५३ जना, हजाम ७ जना, कूचिकार २०, जना र खेलाडी १४ जनाका लागि भर्ना खुलाएकाे छ।

नेपाल प्रहरीले आज सार्वजनिक गरेकाे सूचना अनुसार खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने छ ।

दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ । जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिन्छ ।

खेलाडीहरुका लागि भने काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दरखास्त फारम बुझाउनु पर्ने छ ।

यसैगरी गत कात्तिक ३ गते भर्ना खुलेको प्रहरी सहायक निरीक्षक (असई) पदमा १०५ जना थपिएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।