बालेनसँग वडाध्यक्ष चिनकाजीको आक्रोशः न्युरोडमा नोपार्किङ होइन निशुल्क पार्किङमा मात्रै साथ हुन्छ (भिडियो)

काठमाडौं, २६ माघ । काठमाडौं महानगरपालिकाले वडा कार्यालयसँग समन्वय नै नगरी न्यूरोड क्षेत्रका कालोपत्रे सडकमाथि गरिएको पार्किङ हटाएपछि वडा कार्यालयले आपत्ति जनाएको छ। वडा २२ का अध्यक्ष चिनकाजी महर्जनले पत्रकार सम्मेलन नै गरेर आपत्ति जनाउनु भएको हो । उहाँले निशुल्क पार्किङको विकल्प दिदैँ त्यहाँबाट पार्किङक हटाउने कुरामा साथ नरहने चेतावनी पनि दिनुभयो ।

काठमाडौं महानगर पालिकाका मेयर बालेन साहले न्यूरोड क्षेत्रमा गरिँदै आएको पार्किङ माघ ९ गतेबाट हटाउन निर्देशन जारी गरेपछि वडाध्यक्ष, स्थानीय र व्यपारीहरु रुष्ट बन्दै आएका छन् ।

आफ्नो क्षेत्रमा कुनै जानकारी र समन्वयनबिना नै पार्किङ हटाएको भन्दै पत्रकार सम्मेलनमा पनि महर्जनले आपत्ति जनाउनु भयो । वडामा समन्वयन नै नगरी पार्किङ हटाइएको उहाँको आरोप छ । उहाँले दशैं तिहारका बेला पनि धरहराको भूमिगत पार्किङमा मन्त्रालयसँग समन्वय गरेर करीब डेढ महिना पार्किङ सेवा उपलब्ध गराएको स्मरण गराउँदै उहाँले अहिले मेयरको एकलौटी निर्णयका कारण समस्या भएको दाबी गर्नुभयो ।

न्युरोड क्षेत्रलाई गुलाजर बनाउन र अर्थतन्त्र चलाएमान बनाउनुपर्ने उहाँको भनाई थियो । उहाँले विकल्प तोकेर निश्चित ठाउँमा पार्किङको व्यवस्था गर्नुपर्ने भन्दै न्यूरोडमा पार्किङ हटाउँदा व्यवसायीहरू मारमा परेको पनि स्मरण गराउनुभयो ।

टाउकोमा जुम्रा पर्यो भनेर कपाल खौरिने नभई सफा सुग्घर गर्नुपर्नेमा उहाँको जोड थियो । ‘तर कपाल फोहोर भयो र जुम्रा पर्यो भनेर मेयरले कपालै खौरिने गलत काम गर्नुभयो,’ महर्जनले भन्नुभयो, ‘धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा ऐतिहासिक दृष्टिकोणबाट राष्ट्रिय रुपमा अत्यन महत्वपूर्ण उक्त स्थानको समग्र जनजिवनको संवेदनशीलताल र सन्तुलनलाई पूरै बेवास्ता गरी त्यहाँको विभिन्न अयायाहरुलाई दीघकालीन नकरात्मक असर पर्ने गरी महानगर बोर्डमा छलफल निर्णय नगरी स्थानीय वडाका जनप्रतिनिधिहरलाई समेत जानकारी नगरी प्रमुखले एकलौटी ढंगले पार्किङ हटाउने कार्य भएको देखिएको हुँदा त्यस प्रकारको गैर जिम्मेवार कृत्यको हामी स्थानीय राजनीतिक दल संघ, संस्था व्यापार संघको गम्भीर असहमति र विरोध रहेको छ ।’ पत्रकार सम्मेलनमा स्थानीय संघसंस्था, व्यापारी र राजनीतिक दलका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।