एक दिवसीय सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं, २९ माघ । अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज अन्तर्गत आज क्यानडासँग तेस्रो तथा अन्तिम खेल नेपालसंग हुँदैछ ।

खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

नेपालले आजको खेलमा तीव्र गतिका बलर हेमन्त धामीलाई डेब्यु दिने सम्भावना छ । सम्भव त अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिंदै हेमन्तलाई डेब्यु गर्न दिनसक्छ ।

सोमपाललाई विश्राम नदिए रिजन ढकाललाई बाहिर राख्ने सम्भावना रहेकाे छ। त्यस्तै कुशल भुर्तेल फर्किंदा आसिफले विश्राम पाउने सम्भावना छ ।

पछिल्लो खेलमा २० बलमा ५० रनको आक्रामक इनिङ खेलेका अनिललाई नेपालले थप मौका दिने देखिन्छ । ७६ रन बनाएका देव खनालले पनि मौका पाउनेछन् । लिग २ मा नभएका देव र अनिल अन्तिम खेलमा सानदार प्रदर्शन गर्ने सोचमा हुनेछन् ।

क्यानडाले दुवै खेलमा ब्याटिङमा राम्रो सुरुवात गरेको छ । तर, अन्तिम २० ओभर भने लगातार विकेट गुमाउँदा विशाल योगफलमा पुग्न सकेको छैन ।

नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो ।