सुनसरीबाट एक करोड ८२ लाख बराबरको नक्कली नोट बरामद

विराटनगर । प्रहरीले सुनसरीको इनरुवामा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला पारेको छ ।
आइतबार भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्करपियो गाडी शङ्कास्पद देखिएपछि खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद भएको हो ।
बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए ।
प्रहरीले नक्कली नोट ल्याउने गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।
आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिने सुनसरी प्रहरीले तयारी गरेको छ ।