पाकिस्तानमा १०१ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार विजयी

काठमाडाैं, २९ माघ । पाकिस्तानमा प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदान सम्पन्न भएको छ।

पाकिस्तानका प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको मत गणना सम्पन्न भएर नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ।

पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट जितेको छ। २६४ सिटको नतिजामा स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट जितेको हाे ।

पिटिआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न नदिएपछि पिटिआईका र त्यसका समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यसपालि त्यहाँ नवाज सरिफको पाकिस्तान मुस्लिम लिग-नेश्नलिस्ट (पिएमएल-एन)लाई पाकिस्तानी सेनाको समर्थन थियो। सेनाको समर्थनका बाबजुद उक्त दलले पनि बहुमत पाउन सकेन। पिएमएल-एनले ७५ सिट ल्याएको छ।

त्यस्तै बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पिपिपी)ले ५४ सिट जितेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जितेको छ ।

चारवटै प्रान्तीय सभाको पनि परिणाम आइसकेको छ। पञ्जाबमा २९७ सिटमध्ये १३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। यहाँ पिएमल- एनले १३७ सिट जितेको छ भने पिपिपीले १० सिट मात्रै ल्याएको छ।

सिन्धमा १३० मध्ये पिपिपीले ८४ सिट ल्याएको छ। यहाँ मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले २८ सिट जित्दा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले १३ सिट जितेक छन्। खेबर पख्तुन्ख्वामा १२२ मध्ये ९० सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्।

बलोचिस्तानमा ५१ सिटमध्ये पिपिपीले ११, पिएमएल-एनले १०, जमियत उलमा-इ-इस्लामले ११ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको छ।

अमेरिका, बेलायत र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र हस्तक्षेप गरेको बताउँदै छानबिनको माग गरेको छ।

त्यहाँ मतदान र मतगणनाको समयमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो। नेता कार्यकर्ताहरूलाई पक्राउ र पत्रकारहरूमाथि कुटपिट भएको समाचारहरू सार्वजनिक भएको थियो।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको थियाे । इमरान खानलाई राष्ट्रिय गुप्तचर सूचना चुहावट गरेको आरोपमा सजाय सुनाइएको थियो । फैसलापछि  पूर्वप्रधानमन्त्री इमरान खान जेलमा सजाय काटिरहेका छन् ।