काठमाडौं महानगरले थाल्यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन

काठमाडौं, २९ माघ । काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो ।

काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानीकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानीकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्छ । यो व्यवस्थामा उल्लेख भएका दायित्व सम्बन्धी काम अनुगमनका सूचक हुन् ।

‘सहरी वातावरणमा महसुस योग्य सुधार गर्नुपर्छ । यस कार्यका फोहोर उत्पादकहरुले दायित्व बोध गरेर नागरिक र कानुनी दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वाश लिएका छौँ ।’ अनुगमनपछिको संक्षिप्त प्रतिक्रियामा डंगोलले भन्नुभयो, ‘वातावरणीय जोखिम बढ्न नदिन हामी सचेत छौँ । क्षेत्राधिकारभित्रका काम गरिरहेका छौँ ।’

अनुगमका क्रममा अस्पतालको नर्सिङ् विभागका प्रमुख राधिका घिमिरे, संक्रमित फोहोर उत्पादन हुने ठाउँ, उत्पादिन फोहोर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापनको अभ्यास देखाउनुभएको थियो ।

घिमिरेकाअनुसार अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्ने प्रणाली विकास गरेको हो । स्रोतमा फोहोर छुट्याउन नर्सिङ् वेस्ड सिस्टम कार्यान्वयनमा छ । फोहोर उत्पादन हुने ठाउँको ड््युटीमा रहने नर्सिङ् स्टाफले यसको जिम्मेवारी लिने गर्नुभएको छ । अस्पतालमा १ सय बेडको हो ।

सामान्य फोहोर उत्पादन हुने ठाउँमा ४ प्रकारका बाल्टिन राखिएका छन् । प्लाष्टिक, बोतल र क्यान, कागज र खानाजस्ता कुहिने बस्तु छुट्टाछुट्टै बाल्टिनमा जम्मा गरिन्छ । हानीकारक फोहोर संकलन गर्न ८ वटा बाल्टिनसहितको ट्रली प्रयोग गर्ने गरिएको छ । संक्रमित फोहोर निर्मलीकरण गर्न १ सय लिटरका २ वटा अटोक्लेभ मेसिन राखिएका छन् । उपचारका क्रममा उत्पादन भएको तरल हानीकारक फोहोरलाई क्लोरिनेसन गरेर सामान्य बनाउने घिमिरेको भनाइ छ ।

निर्मलीकरण गरिएको पुनःप्रयोग गर्न सकिने फोहोर बेचेर अस्पतालले वार्षिक करिब १ लाख ८० हजार रुपैयाँ आम्दानी गर्ने गरेको छ । कति फोहोर पुनःप्रयोग गर्न सकिँदैन । यस्तो खालको फोहोर निर्मलीकरण गरेपछि पैसा तिरेर उठाउन लगाउनु पर्छ । मासिक १० देखि १५ किलोग्रामसम्म यसप्रकारको फोहोर उत्पादन हुन्छ ।

अनुगमनपछि फोहोर प्रशोधन कक्ष अलग्गै ठाउँमा राख्न सुझाव दिइएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भन्नुभयो, ‘क्यान्टिन र फोहोर प्रशोधन कक्षको दुरी नजिक देखियो । प्रशोधन कक्ष साँघुरो छ । यसलाई बढाउनु पर्ने देखिएको छ ।’

विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फोहोरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादन फोहोरलाई व्यवस्थापन गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।