राष्ट्रपति पौडेललगायतबाट वसन्तश्रवण, सरस्वती मन्दिरमा बिहानैदेखि घुइँचो

काठमाडौँ, २ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ । त्यस अवसरमा उहाँले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गर्नुभयो । वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगण, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति पौडेलले बुधबार शुभ साइतमा वसन्त श्रवण गर्नुभएको हो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने चलन छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो ।

नेपाल सम्बत सिल्लाथ्व पञ्चमी तिथिका दिनलाई श्रीपञ्चमी भनिन्छ । यसदिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । शिशिर ऋतुको समाप्ती र वसन्त ऋतुको आगमनमा मनाइने यस पञ्चमीका दिनदेखि गर्मी महिनाको सुरवात हुन्छ भन्ने मान्यता छ । यसै दिनलाई अक्षर शुभारम्भको दिनको रुपमा समेत लिने गरिन्छ ।

सरस्वती माताको विशेष पूजा आराधना गर्ने यसदिनमा ल्हासापाकोबाट सस्यूम्ह द्यः भक्तपुरको भिमसेनस्थानमा रहेको सरस्वती मन्दिर, नागपोखरी र इनागालमा रहेको सरस्वती मन्दिरमा ल्याउने गर्दछ । उक्त स्थानमा विशेष मेला समेत लाग्ने गर्दछ भने पूजाका साथ साथै सरस्वतीको मुर्तिमा तेल लगाउने पनि चलन छ ।

आजकै दिन विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्न बिहानैदेखि भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक क्षेत्रमा पनि दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको थियो । चाँगुनारायण नगरपालिका–८ थाकलमोठस्थित महामञ्जुश्री सरस्वती मन्दिरमा महामञ्जुश्री सरस्वती आफैँ उत्पत्ति भएको मान्यताअनुसार हरेक वर्ष श्रीपञ्चमीका दिन भीड लाग्ने गर्दछ ।

आज विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक शिक्षिका बिहानैदेखि दर्शन एवं पुजाका लागि मन्दिर पुगेका थिए । त्यसैगरी आजै चाँगुनारायण–१ सरस्वतीखेलस्थित सरस्वती मन्दिरमा पनि उपत्यकाबाट आएका दर्शनार्थीको भीड लागेको छ । सरस्वती मन्दिरकै नामबाट गाउँको नाम रहन गएको यो ठाउँमा बिहानैदेखि भीड लागेको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो । काठमाडौंका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ, मन्दिरमा पूजाआजा गर्न भक्तजन तथा विद्यार्थीको घुइँचो लागेको छ ।

स्वयम्भुनाथ र गैरीधारास्थित नीलसरस्वतीमा अक्षरारम्भका लागि बालबालिकासहित आफन्तजनको भीड लागेको थियो । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र वुद्धि धेरै हुने जनविश्वास रहीआएको छ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, व्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले स्तुति गान गर्ने गर्दछन् । विद्या र सृजनाकी देवी भएकाले सबैले आ–आफ्नो घरमा पनि देवी सरस्वतीको फोटोमा पूजा गर्ने चलन छ । सरस्वतीलाई तान्त्रिकले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि पुज्ने गर्दछन् ।