नेपाल १३२ रनमा अलआउट, नामिबियासँगको जितलाई निरन्तरता दिने नेपालको चाहना दबाबमा

काठमाडौँ, ३ फागुन । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले नामिबियासामु १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन जोड्न सफल भए । नामिबियाका कप्तान जेराल्ड एरास्मसले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । त्यसैगरी नेपालका लागि कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल शून्य रनमा आउट भए ।

नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । ८ ओभर १ बल बलिङ गरेको एरास्मसले २८ रन खर्चेर सर्वाधिक ५ विकेट लिन सफल भए । रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २–२ तथा निकोल लोफ्टि–इटनले १ विकेट लिए । आजको खेलमा नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् । पछिल्लो पटक घरेलु मैदानमा भएको खेलमा नेपालले नामिबियालाई हराएको थियो । नेपालले त्यसै जितलाई निरन्तरता दिन चाहन्छ । यता नामिबिया भने उक्त हारको बदला लिने दाउमा छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी छन् । त्यस्तै बेन्चमा सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख छन् ।

त्यस्तै नामिबियाको प्लेइङ ११ मा कप्तान जेरार्ड एरास्मससहित जेन ग्रिन, जेजे स्मिथ माइकल भान लिंगेन, निकोल लोफ्टिइटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज छन् । बेन्चमा जेपी कोट्जे, मलान क्रुगर, बेन शिकोंगो र सन फौसी छन् ।

घरेलु मैदानमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को नयाँ सर्कल आजदेखि सुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो ।