एमालेले सरकारलाई दबाब दिन जनपरिचालन गर्ने, भवन निर्माणमा हरेक सदस्यबाट १ सय उठाउने

काठमाडौं, ३ फागुज । नेकपा (एमाले) ले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि हरेक पार्टी सदस्यबाट १ सय रुपैंया संकलन गर्ने भएको छ । एमाले मुख्यालयमा आज बसेको सचिवालय बैठकले यो प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने भएको छ ।

२०७२ बैशाखको भूकम्पले बल्खु मदन नगरस्थित कार्यालय भत्किएपछि एमाले भाडाको घरमा बस्दै आएको छ । अहिले बसिरहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवन पनि एमालेले पाँचवर्षका लागि भाडामा लिएको हो । यस अघि नै २०७३ साल बल्खुमा अत्याधुनिक भवन बनाउने भन्दै तत्कालिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

पार्टीमा प्रवेश गर्ने र पार्टीको अधिवेशन पछि जिम्मेवारीबाट बिदा भएका अगुवा नेताहरू व्यवस्थापनको विषयमा पनि बैठकमा छलफल गरी निर्णय गरिने एमालेले जानकारी दिएको छ।

त्यसैगरी बैठकले केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाएको छ। बैठकपछि महासचिव शङ्कर पोखरेलले सो जानकारी दिनुभएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। सचिवालयले केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ। राजनीतिक स्थितिको समीक्षा, सङ्गठनात्मक प्रतिवेदन, सङ्गठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा केन्द्रीय समिति बैठकका प्रमुख एजेन्डा तय गरेको महासचिव पोखरेलले जानकारी दिनु भयो ।

साथै पार्टी निर्माणका सवालमा एमालेलाई व्यवस्थित र बलियो शक्तिका रूपमा स्थापित गर्न सकिने उपायका बारेमा समेत केन्द्रीय समिति बैठकमा छलफल हुने महासचिव पोखरेलको भनाइ छ।

एमालेले केन्द्रीय समिति बैठकमार्फत गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय समेत गर्नेछ। महासचिव पोखरेलले भन्नुभयो, ‘सरकारलाई दबाब दिन जनपरिचालन गर्ने बारेमा समेत केन्द्रीय समितिले निर्णय गर्नेछ।’ बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जना थप्ने निर्णय गरेको छ । जसमा मणिराज बास्तोला, माधव नेपाल र इन्द्र आचार्य हुनुहुन्छ ।