रौतहटको इशनाथमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप, कर्फ्यु जारी

जनकपुरधाम, ४ फागुन । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा केही स्थानीय घाइते भएका छन्।
ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताउनुभयाे । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
विवादलाई सामान्यीकरण गर्न दुई पक्षबिच छलफलको बाबजुद पनि स्थिति सामान्य नभएकोले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन जाने स्थिति देखिएकोले कर्फ्यु आदेश जारी गरिएको प्रमुख रेग्मीद्वारा जारी आदेशमा भनिएको छ।
उहाँका अनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ।