कैलालीबाट प्रचण्डलाई ओलीको प्रश्नः ७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने ?

कैलाली, ६ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइने बताउनुभएको छ । नेकपा (एमाले) कैलालीको नवौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले राजनीतिक परिवर्तनलाई मूर्त रुप दिई देशमा सुशासनको बाटोमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक क्षेत्रमा बलिदान ग¥यौँ, अब विकासमार्फत देशलाई परिवर्तन गर्नुछ ।’
अहिले मुलुक गम्भीर मोडमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘राष्ट्रियता कमजोर भएको छ ।’ आफ्नो पार्टीले हरेक पालिकामा अस्पताल बनाउने कुरामा जोड दिएको उहाँको भनाइ थियो । आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको अध्यक्ष ओलीको आरोप थियो ।
देशमा रोजगारीको सृजना गर्न नसक्नु विडम्बना रहेको उल्लेख गर्दै गाउँबस्ती रित्ता भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । ‘दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिएका छन् । म प्रधानमन्त्री भएको बेला उत्पादन वृद्धि भएको थियो, पूर्वाधारको विकास भएको थियो । एकै दिनमा दुई सय १० पालिका सदरमुकाम जोड्ने सडक शिलान्यास गरेको थिए । आज ती सडक अलपत्र छन्’, उहाँले भन्नुभयो, ‘हामीलाई यो देशमा सुशासन ल्याउनु छ, रोजगारीको अवसर सृजना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।’
उहाँले वर्तमान गठबन्धन सरकारले एउटा पनि देखिने काम गर्न नसकेको आरोप पनि लगाउनुभयो । उहाँले सरकारले कुनै गतिलो काम नगरेको टिप्पणी गर्नुभयो । ‘प्रधानमन्त्रीले एउटा पनि देखाउन लायकको काम गर्नुभएको छैन’, उहाँले भन्नुभयो । ओलीले यो सरकार निकम्मा भएकोले सरकारले केही काम गर्न नसक्ने दाबी गर्नुभयो । ‘यो निकम्मा सरकार हो, यसले केही काम गर्न सक्दैन’, ओलीले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले पटक पटक सच्चिने कुरा गर्नुभएको भए पनि अब उहाँले सच्चिने सम्भावना नरहेको ओलीले बताउनुभयो । ‘७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने ?’ उहाँले प्रश्न गर्नुभयो ।
ओलीले अहिले राष्ट्र निक्कै कमजोर अवस्थामा पुगेको बताउनुभयो । देशमा कुशासन, अनियमितता र भ्रष्टाचार बढेको तथा राष्ट्रिय स्वाभिमान संकटमा परेको ओलीले टिप्पणी गर्नुभयो ।
ओलीले आफू प्रधानमन्त्री हुँदा गरेका काम सरकारले रोकेको भन्दै आलोचना गर्नुभयो । विकासका सबै काम सरकारले ठप्प पारेको उहाँले टिप्पणी गर्नुभयो । सरकार विकासका सबै काम ठप्प बनाएर भ्रष्टाचार र तस्करीको काममा लागेको उहाँले बताउनुभयो । ओलीले अधिवेशनबाट सक्षम र योग्य नेतृत्व चयन गर्न निर्देशन दिनुभयो । उहाँले अधिवेशनको क्रममा कुनै पनि गुटबन्दी नगर्न पनि आग्रह गर्नुभयो ।