मुख्यालयबाट ओली आबाजः ज्वाला नैतिकता हराएको मन्त्री, प्रचण्ड हुतीहारा प्रधानमन्त्री
काठमाडौं, ८ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वालाको तिव्र आलोचना गर्नुभएको छ । मुख्यालयमा आजबाट सुरु नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा ओलीले यस्तो आलोचना गर्नुभएको हो ।
ओलीले तीन दिनसम्म चल्ने बैठकको उद्घाटनमा सम्वोधन गर्दै मन्त्री ज्वालाको जता पनि झण्डा हल्लाउँदै जाने रहरका कारण घटना भएको उल्लेख गर्नुभयो । ‘मन्त्रीहरू त अहिले जता पनि झण्डा हल्लाउँदै पुगेका छन्। दोषी हो भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो मन्त्रीको गलत क्रियाकलापले गर्दा त्यहाँ मान्छे मर्ने स्थिति आयो भनेको छ,’ ओलीले भन्नुभयो, ‘यस्तो मन्त्रीमा नैतिकता भन्ने चिज नै छैन न राजीनामा गर्छ, न त प्रधानमन्त्रीसँग हटाउने हुती छ। नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री।’
उहाँले दोषी करार गरेको र दोषका कारणले मान्छेको ज्यान गएको अवस्थामा नैतिकता हराएर झण्डा हल्लाएर बस्न नहुने दाबी गर्नुभयो । ‘जुन दोषका कारणले प्रहरीहरू कारबाहीमा परेका छन्। अप्रिय स्थिति बनेको छ, त्यस्तो मन्त्री बसिरहन मिल्छ ? के हो लोकतन्त्र ? लोकतन्त्रको यस्तो मजाक उडाउन मिल्छ ?’ ओलीले भन्नुभयो, ‘गठबन्धनले यस्तो काम गरिरहेको छ। लाज पनि छैन।’
उहाँले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको पनि उल्लेख गर्नुभयो । ओलीले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको बताउनुभयो । अनेरास्ववियुले पनि दुई जना निर्दोष युवाको हत्याको प्रमुख कारण मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गर्दै ह्यासट्याग अभियान चलाएको छ ।
तीन दिनसम्म चल्ने बैठकका लागि ६ वटा कार्यसूची तय छन् । अध्यक्ष ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने कार्यसूचि छ ।
त्यसैगरी बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणा मुख्य एजेण्डा रहेको छ । एमालेले गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्षका कार्यक्रमसेत यो बैठकबाट अघि सार्ने तयारी गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी, अन्य एजेण्डामा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाब, समसामयिक प्रस्ताव रहेका छन् ।