भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै अनेरास्ववियुले गर्याे देशभरकाे क्याम्पसमा प्रदर्शन
काठमाडौं, १० फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले देशभरका क्याम्पसहरुमा आज बिहान ९ बजे एकसाथ देशैभरिका क्याम्पसमा बिराेध स्वरूप बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै क्याम्पसअगाडि प्रदर्शन गरेका हुन् ।
गत पुस १३ गते कोरियाली भाषाको परीक्षामा सहभागी गराइनुपर्ने माग राखेर प्रदर्शन गरिरहेका युवाहरूमाथि प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो।
ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल मन्त्री ज्वालाकाे राजीनामा माग गरेका हुन् । सोही क्रममा काठमाडौंको कमर्स क्याम्पसमा ज्वालाको राजीनामा माग्दै पुत्ला दहन गरेका छन् ।
बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुका कार्यकर्ताले बुधबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजअगाडि मसाल जुलुस पनि निकालेकाे थियाे ।