स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको छ : सभामुख घिमिरे

काठमाडौँ, १२ फागुन । सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको बताउनुभएकाे छ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिवार संसद् भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरूको चेतनाको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्न गएको बताउनुभएकाे हाे ।

उहाँले राजनीतिक दल र जनप्रतिनिधिहरूले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरूमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने स्पष्ट पार्नुभयाे । उहाँले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरूकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ ? भन्ने कुराकै जानकारी छैन’ ।

सभामुख घिमिरले जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयाे। उहाँले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानुन बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने बताउनुभयाे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रममा समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नुभयाे । उहाँले क्यान्सर रोगको सचेतनाका लागि विद्यालय तहदेखि नै पाठयक्रममा समावेश गरी पठनपाठन गराउने व्यवस्था सरकारले मिलाउनुपर्ने बताउनुभयाे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शिर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभयाे ।