भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ (तस्बिरहरू)

काठमाडौँ, १५ फागुन । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा उहाँका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिनुभयो ।
त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको गायक आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै सङ्गीतकर्मीले उहाँकै गीत र भजनमार्फत बिदाइ गरेका थिए । सङ्गीतकार सङ्घ नेपालको आयोजनामा भएको श्रद्धाञ्जलि कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘हरे राम हरे कृष्ण’ गीतलाई उपस्थित सङ्गीतकर्मीसँगै स्वर्गीय आचार्यका दुवै छोराले पनि गाउनुभएको थियो ।
सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष चेतन सापकोटाले आफूलाई गीतसङ्गीतमा भविष्य देखाउने र काठमाडौँसम्म आउन प्रेरणा दिने आवाज गायक आचार्यको रहेको बताउनुभयो ।
गायक हेमन्त शर्माले गायक आचार्यलाई युग गायकको रुपमा सम्झनुभयो । सङ्गीतकार वसन्त सापकोटाले भक्तराजको अवसानबाट एउटा इतिहासको समापन भएको बताउनुभयो । गायिका मिलन नेवाले उहाँको गीतले आफूलाई प्रेरणा प्राप्त भएको बताउनुभयो ।
विसं १९९९ मा धनकुटाको कुरुलेतेनुपामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङगीतमा महत्वपूर्ण योगदान छ । आचार्यले ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौँ’, ‘जहाँ छन् बुद्धका आँखा’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ ।
भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।