हुबहु समाचार सारेर प्रकाशित गरेकाे भन्दै प्रेस काउन्सिलले गर्‍यो एक सय ८३ अनलाइनलाई कारबाही

काठमाडाैं, १६ फागुन । प्रेस काउन्सिल नेपालले १ सय ८३ अनलाइनलाई हुबहु समाचार सारेर प्रकाशित गरेकाे भन्दै कारबाही गरेको छ।

काउन्सिलले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत हुबहु सार्ने (कपि एण्ड पेस्ट गर्ने) अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको हाे।

काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको र ११ वटालाई सचेत गराइएको जनाइएकाे छ ।

‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको काउन्सिलले जनाएकाे छ ।

‘मिडियाका रूपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ,’ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बुधबार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो।बैठकले हुबहु प्रवृत्ति निरूत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ।

आगामी दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्न/नगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको काउन्सिलले जनाएकाे छ ।