सभामुख घिमिरेले गरे सरकारलाई सदनमा उठेका विषयबारे फागुन २१ गतेको बैठकमा जवाफ दिन रुलिङ

काठमाडौं, १८ फागुन । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा उठेको विषयबारे आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएकाे छ ।
प्रतिनिधिसभामा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले सरकार जवाफदेही नबनेको आरोप लगाउँदै संसद अवरोध गरेपछि सभामुखले फागुन २१ गतेको बैठकमा आजसम्म उठेकाे विषयको जवाफ दिन रुलिङ गर्नुभएकाे हाे ।
बैठकमा एमाले सांसद सूर्य थापाले भन्नुभयाे, ‘सरकार जवाफदेही भएन सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि ? संसद् स्थगित गर्नुपर्ने हो कि ?’ उहाँले संसद्मा उठाएका विषयमा पटकपटक रुलिङ गर्दा पनि सरकारले बेवास्ता गरेको बताउनुभयाे ।