‘केपी ओली कप’मा चार ११ को संयोग, दोस्रो संस्करण पनि मछिन्द्रकै पोल्टामा

काठमाडौं, १९ फागुन । नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगिताको आज फाइनल खेल सम्पन्न भएको छ । हजारौँ दर्शकले खचाखच दशरथ रंगशालामा केपी ओली कप फुटबलको फाइन खेल सम्पन्न भएको हो ।

उक्त फाइनल खेलमा एनआरटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै मछिन्द्रनाथ क्लब केपी ओली कपको उपाधि चुम्न सफल भयो । एनआरटीका विवेक गुरुङको प्रहार जाली चुम्नबाट चुकेपछि डिफेन्डिङ च्याम्पियन मछिन्द्रले उपाधिको रक्षा गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गयो । तर, एनआरटीको अन्तिम प्रहार गोलमा परिणत हुन नसकेपछि मछिन्द्रलाई उपाधिको बाटो खुल्यो ।

मछिन्द्रका लागि पाँचै खेलाडी श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन समिर विनोङ, क्रिस्टोफर र देवेन्द्र तामाङले पेनाल्टीलाई गोलमा परिणत गरे । यता एनआरटीका लागि भने सरोज तामाङ, सञ्जि विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरे ।

दोस्रो संस्करणको यो प्रतियोगिता फागुन ११ गतेदेखि सुरु भएको थियो । युवा सघंले २०७९ सालदेखि केपी ओली कप फुटबल प्रतियोगिताको थालनी गरेको हो । पहिलो संस्करणमा नेपालको ‘ए’ डिभिजन क्लबका खेलाडीहरु सभागी भएका थिए । यो पटक युवा संघले नेपालको ‘ए’ डिभिजन क्लबसँगै मुलुक बाहिरका टिमलाई पनि सहभागी गराएको थियो ।

जितसँगै प्रतियोगितामा बिजयी टोली मछिन्द्रले ११ लाख रुपैयाँ र दोस्रो हुने टोली एनआरटीले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । खेलमा चारओटा ११ को संयोग मिलाएको युवा संघले कार्यक्रमको प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई बनाएको थियो ।

फागनु ११ गतेबाट सुरु भएको खेलमा बिजयी टोलीलाई ११ लाख दिएको थियो भने फुटबलको नियम अनुसार एक टिममा ११ जना खेलाडी रहन्छन् । त्यस्तै ११ को संयोग मिलाउन युवा संघले कार्यक्रमको उद्घाटन युवा संघ नेपालका संस्थापक एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन अर्थात् फागुन ११ नै रोजेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्त निरोज पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि युवा संघले जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ । हरेक खेलको म्यान अफ दी म्याचलाई पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ ।

गत वर्ष भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले नै हात पारेको थियो । प्रतियोगिताको फाइनल खेल दशरथ रंगशालामा र बाँकी खेल एन्फाको टेक्निकल सेन्टर च्यासलमा भएका थिए ।

फुटवल हेर्न अध्यक्ष ओलीसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु भानुभक्त ढकाल, महेश बस्नेत, काठमाडौंँ महानगर पालिकाकी उपप्रमुख सुनिता डंगोललगायत पनि दशरथ रंगशाला पुग्नु भएको थियो ।