बालुवाटरमा एमाले नेताहरुको बाक्लो आउजाउः गठबन्धन फेरवदलको संकेत
काठमाडौं, २० फागुन । आइतबार साँझ नेकपा (एमाले) मुख्यालय छिर्नु भएका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग केहीबेर कुराकानी गर्नुभयो । त्यसपछि महासचिव शंकर पोखरेललाई समेत लिएर प्रधानमन्त्री निवास बालुबाटार पुग्नु भएका ओली र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ । आइतबार नै ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।
राष्ट्रियसभा अध्यक्षको चुनाव नजिक आउँदै गर्दा एमाले र माओवादीबिचको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । पछिल्लो समय नेपाली कांग्रेससँग असन्तुष्ट बन्दै आउनु भएका प्रधानमन्त्री प्रचण्डले केही दिन अघि मात्रै पनि काँध फेर्न सकिने भन्दै गठबन्धन फेरबदलको सन्देश दिनुभएको थियो । नेपाली कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष दिन मञ्जुर माओवादी पछिल्लो समय आफ्नै दलबाट अध्यक्ष अघि सार्ने तयारीमा जुटेको छ ।
राष्ट्रिय सभा अध्यक्षको विषयलाई आधार मानेर माओवादी गठबन्धनलाई गलाएर अर्थमन्त्री आफ्नो पोल्टामा पार्ने कसरतमा रहेको चर्चा चलिरहेका बेला ओली–प्रचण्डको पछिल्लो बाक्लो भेटघाटले केही तरंग सिर्जना गरेको छ ।
दुई नेता बालुबाटारमा लामो भेटवार्तामा जुटेपछि माओवादीका वर्षमान पुन र एमालेका विष्णुप्रसाद पौडेल पनि बालुवाटार पुगेको स्रोतको भनाई छ । पुन कांग्रेस भन्दा एमालेसँग गठबन्धन गरेर अघि बढ्नुपर्ने लाइनमा रहँदै आउनु भएको छ । बालुवाटार भेटमा पुनको प्रवेशलाई समेत अर्थपूर्णरुपमा हेरिएको छ । त्यसो त परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदको फिनल्याण्ड भ्रमण रद्द भएको छ।
फिनल्याण्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन साउद आजै त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहे पनि साँझ परराष्ट्र मन्त्रीले उक्त भ्रमण रद्द गर्नुभएको छ । त्यति मात्रै होइन कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आजै पार्टीका तर्फबाट संघीय सरकारमा सहभागी भएका मन्त्रीहरूलाई निवास बूढानिलकण्ठ बोलाएर छलफल गर्नुभएको छ । यो पछिल्लो घटनाक्रमले पनि गठबन्धनमा केही फेरवदलको संकेत देखिएको छ ।