शेयर बजारमा तेस्रो सर्किट ब्रेकसँगै बन्द भयाे नेप्से

काठमाडौं, २१ फागुन । शेयर बजारमा तेस्रो सर्किट ब्रेक भएसँगै आज दिनभरीका लागि कारोबार बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरीका लागि कारोबार बन्द भएको हो ।

आज बजार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।

पहिलो सर्किटपछि शेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो भने बजार खुलेर १ मिनेटमै दाेस्राे सर्किट ब्रेक भइ ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो ।

दोस्रो सर्किट ११ बजेर २६ मिनेट लाग्दासम्म ६ लाख ४१ हजार ६८२ कित्ता सेयरको खरिदबिक्री हुदा २६ करोड ३७ लाख १ हजार रुपैयाँको कारोबार भएको थियो ।

दोस्रो सकिर्ट ब्रेक खुलेको एक मिनेट नहुदै तेस्रो सर्किट ब्रेक लगेको हो । तेस्रो सकिर्टमा नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ बिन्दुमा बन्द भएकाे छ ।

शेयर बजारका अनुसार कारोबार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म सर्किट ब्रेक लाग्छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गर्ने व्यवस्था छ ।