आज तीन मन्त्रीले सपथ लिदैँ, रवि गृहको गनगनमा
काठमाडौं, २१ फागुन । गठबन्धनमा फेरबदलसँगै आज तीन जनाले मन्त्री पदको सपथ लिने भएका छन् । एमालेबाट प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट उपाध्यक्ष डिपी अर्यालले आज मन्त्री पदको सपथ लिने तयारी भएको छ ।
बैठकपछि माओवादीका उपमहासचिव वर्षमान पुनले यस्तो जानकारी दिनुभएको हो । सुरुमा माओवादीबाट पुन र रास्वपाबाट सभापति रवि लामिछाने सरकारमा सहभागी हुने तयारी भए पनि अहिले तत्कालका लागि उहाँहरु सरकारमा सहभागी नहुनु हुने भएको छ ।
नयाँ सत्ता गठबन्धनको बैठक फेरि बालुवाटारमा साढे २ बजे बस्ने तयारी गर्दै नेताहरु बैठकबाट उठेका छन् । अहिले दलहरु आन्तरिक छलफलमा रहेका छन् । दलहरुबिच कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा सहमति भएपछि क–कस्लाई मन्त्री बनाउने भन्ने टुंगो लाग्ने छ ।
स्रोतका अनुसार उपप्रधानसहित गृहको जिम्मेवारीमा लामिछानेले आँखा लगाउनु भएको छ । तर, मुख्यगरेर माओवादीले लामिछानेलाई गृह दिन आनाकानी गरेका कारण अहिले अर्यालले सपथ लिने तयारी गरेको बुझिएको छ ।