नयाँ गठबन्धनमा ८ बुँदे सहमति, राष्ट्रिय सभा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेलाई सघाउने

काठमाडौंँ, २१ फागुन । नयाँ गठबन्धनले राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रलाई सहयोग गर्ने भएको छ । त्यसैगरी उपाध्यक्षमा भने नेकपा (एमाले)लाई सहयोग गर्ने सहमति जुटेको छ । आज नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुले ८ बुँदे लिखित सहमति गरेर यो सार्वजनिक गरेका हुन् । ८ बुँदे सहमतिमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि त्यससँग सम्बन्धित अध्ययन विषयहरूलाई सहमतिका आधारमा अविलम्ब टुंगो लगाउने सहमति पनि भएको छ ।

सरकारमा सहभागी भएका दलहरुकाबीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने, नयाँ सरकार गठन प्रक्रियामा सकारात्मक भएका दलहरुसँग संवाद अघि बढाउने सहमति पनि दलहरुबीच भएको छ ।

राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरुका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने पनि सहमति भएको छ ।

त्यस्तै सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने र संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने पनि सहमति भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने पनि सहमति भएको छ ।

‘यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गर सहमति अनुसार नयाँ संयुक्त सरकार गठन गर्ने,’ सहमतिपत्रमा भनिएको छ, ‘चार राजनीतिक दल राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवाद उन्मुख आर्थिक सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौँ ।’

सहमति पत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचणड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।