दुई वर्ष अघि मेरियट होटलमा नभेटिएको सहमतिको विन्दु खोज्दै ओली नेपाल निवास पुगेपछि…

काठमाडौं, २२ फागनु । निकै लामो समयको मौनता तोड्दै आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुग्नु भएको छ । ओलीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नाराणणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत पनि नेपाल निवास कोटेश्वर पुग्नुभयो । नेकपा विभाजपछि अहिलेसम्म ओली र नेपालबिच राम्रो सम्बन्ध बन्न सकेको थिएन ।
नेकपा विभाजनपछि २०७८ वैशाख ७ र ९ गते दुई पटक मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको थियो। त्यतिबेला ओली प्रधानमन्त्री पदमै हुनुहुन्थ्यो । त्यो भेटमा दुबै नेताबिच मन माझामाझ भए पनि ओली–नेपालले सहमतिको विन्दु भेट्टाउन सक्नु भएको थिएन । बरु त्यतिबेला दुई नेताबिच मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै गरेको तस्बिर निकै चर्चित बनेको थियो । त्यसपछि भने दुई नेताबिच राम्रो संवाद हुन सकेको थिएन ।
बेलाबेलामा औपचारिक कार्यक्रममा हुने भेटघाटमा पनि उहाँहरुबिच सुमधुर सम्बन्ध बन्न सकेको थिएन । केही दिन अघिदेखि भने दुई नेताबिचको संवादको ढोका मात्रै खुलेको छैन । नेकपा बन्नु अघिको नेकपा (एमाले)कै अवस्था जसरी संवाद र सम्बन्धको डोरी बाट्ने बाटोको खोजि सुरु भएको छ । यस्को ‘ब्रेक थ्रू’ भने ओलीको तर्फबाट नै भएको छ ।
२०७४ सालमा चुनावी तालमेल गरेर तत्कालिन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबिच २०७५ जेठमा नेपाल कम्युनिस्ट पार्टी निर्वाचन भएको थियो । तर, त्यसको दुई वर्षपछि नेकपामा चरम अन्तर सङ्घर्ष भयो र नेकपा फुटको सङ्घारमा पुग्यो । त्यसपछि माओवादी र एमाले पहिलाकै दलमा फर्किए पनि नेपालको नेतृत्वमा भने नेकपा समाजवादी गठन भयो । त्यस यता बागमतीमा हनुमन्तेमा धेरै पानी बग्यो । तर, हनुमन्ते खोला तरेर बालकोट बस्ने ओली र बागमती नदी किनार नजिकै बस्ने नेपालबिचको सम्बन्ध विस्तारको आधार भेटिएको थिएन ।
तर, गठबन्धनमा फेरबदलसँगै प्रधानमन्त्री निवास बालुवाटारको दृष्यमा मात्रै फेरवदल देखिएको छैन त्यसको तरंगले ओली–नेपाल सम्बन्धमा पनि अब फेरवदलको संकेत देखिएको छ । शनिबारसम्म बालुवाटारमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको उपस्थिति शून्य जस्तै हुन्थ्यो । केही महत्वपूर्ण छलफल र भेटघाट बाहेक एमाले, रास्वपाका नेताहरु बालुवाटार पुग्दैनथे । नेपाली कांग्रेस, नेकपा समाजवादीलगयतका नेताहरुको भने बालुवाटारमा निकै बाक्लो उपस्थिति हुन्थ्यो । तर, आइतबारबाट त्यो दृष्यमा फेरबदल आएको छ । आइतबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नुभयो ।
उहाँले प्रधानमन्त्री प्रचण्डसँग निकै लामो छलफल गरेपछि फर्किनुभयो । फेरि साँझ ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर बालुवाटार पुग्नुभयो । बालुवाटारको भेटमा उपाध्यक्ष विष्णु पौडेलको समेत उपस्थितिपछि करीब ३ घण्टा छलफल भयो । त्यहि छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी हुनुभयो । त्यसको भोलिपल्ट कांग्रेससँगको गठबन्धन तोड्दै नयाँ गठबन्धन निर्माण भयो । नयाँ गठबन्धन बनेसँगै एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड मात्रै होइन एमाले र माओवादीका दोस्रो तहका नेताहरु पनि अब मुलुकमा बामगठबन्धनलाई बलियो बनाउने अभियानमा जुटेका छन् ।
बामगठबन्धनको राजमार्गमा नेपाललाई पनि सँगै लैजाने चाहना ओली स्वयंले राखेपछि नेपालसँग विगतका तिता अनुभवलाई भुलेर सम्बन्ध विस्तारको ढोका ओलीले खोल्दै नेपालको निवासमै भेट गर्न आउने बाचा टेलिफोनमार्फत गर्नुभएको थियो । त्यसैबेला अस्वस्थ्य रहनु भएको नेपाललाई स्वास्थ्य लाभको कामना समेत गर्नुभएका ओली आज स्वयं लामो समयपछि नेपाल निवास पुगेर लामो छलफल गरी फर्किनु भएको छ ।
ओली–प्रचण्ड दुबैले नेपालाई औपचारिक रुपमै सरकारमा आउन आग्रह गर्दै नयाँ समीकरण बनाएपछि वामपन्थी एकताको पहल थालेको स्मरण गराएका छन् । यो भेटलाई एमाले र समाजवादी दुबै दलले सकारात्मक रुपमा लिएका छन् ।
नेपालले ओलीसँग सबै भन्दा बढी गुनासो आफ्नो अपमान भएकोमा गर्दै आउनु भएको छ । आज ओली स्वयं नेपाल निवास पुगेपछि नेपाल पनि ओलीसँग सकारात्मक बनेको स्रोतले जानकारी दिएको छ । ‘उहाँ पहिलादेखि नै वामपन्थी एकताको पक्षमा हुनुहुन्छ,’ नेपाल निकट स्रोतले भन्यो, ‘आजको भेटघाटलाई उहाँले सकारात्मक रुपमा लिनुभएको छ । आज ठोस निर्णयहरु केही भएनन् । तर, छलफल जारी राख्ने सहमति भएको छ । आशा गरौँ । आगामी छलफलहरु पनि सकारात्मक नै हुनेछन् ।’
छलफलपछि ओलीले पनि प्रतिक्रिया दिदैँ सकारात्मक वातावरण निर्माण भएको छोटो प्रतिक्रिया दिनुभयो । करिब २ घण्टा लामो छलफलपछि संक्षिप्त प्रतिक्रिया दिदैँ ओलीले माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न आएको भन्दै त्यसक्रममा देशको परिस्थितिबारे समेत छलफल भएको प्रतिक्रिया दिनुभयो । त्यसो त एमाले महासचिव पोखरेलले छलफल सकारात्मक रहको प्रतिक्रिया दिनुभएको छ ।