ओलीसँग तिक्तताको दुरी घटाउँदै नेपाल–खनाल, एमालेसँग एकीकरणको खुल्ला त ढोका ?
काठमाडौं, २३ फागुन । नेकपा विभाजनपछि नेकपा एस गठन गरेका नेताहरु पछिल्लो समय नेकपा (एमाले)सँग नरम बन्न थालेका छन् । नेकपा विभाजनपछि नेकपा (एमाले) र अझ त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीसँगको दूरीलाई निकै टाढा पुर्याएका नेकपा एसका नेताहरु पछिल्लो समय नरम बन्न थालेका हुन् ।
नेकपा विभाजनपछि २०७८ वैशाख ७ र ९ गते दुई पटक मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको थियो । त्यतिबेला ओली प्रधानमन्त्री पदमै हुनुहुन्थ्यो । त्यो भेटमा दुबै नेताबिच मन माझामाझ भए पनि ओली–नेपालले सहमतिको विन्दु भेट्टाउन सक्नु भएको थिएन । बरु त्यतिबेला दुई नेताबिच मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै गरेको तस्बिर निकै चर्चित बनेको थियो । त्यसपछि भने दुई नेताबिच राम्रो संवाद हुन सकेको थिएन ।
अहिले नेकपा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेको छ भने एमालेको अगुवाईमा नयाँ गठबन्धन निर्माण भएको छ । नयाँ गठबन्धन बनेसँगै एमाले अध्यक्ष ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मात्रै होइन एमाले र माओवादीका दोस्रो तहका नेताहरु पनि अब मुलुकमा बामगठबन्धनलाई बलियो बनाउने अभियानमा जुटेका छन् ।
बामगठबन्धनको राजमार्गमा नेपाललाई पनि सँगै लैजाने चाहना ओली स्वयंले राखेपछि नेपालसँग विगतका तिता अनुभवलाई भुलेर सम्बन्ध विस्तारको ढोका ओलीले खोल्दै नेपालको निवासमै भेट गर्न पुग्नु भएको छ । केही अस्वस्थ्य रहनु भएका नेपाललाई स्वास्थ्य लाभको कामना समेत गर्ने गरी ओली नेपाल निवास पुगेपछि ओली–नेपालबिच दोहोरो संवाद भयो । ओलीबाट अपमानित भएको बेलाबेलामा गुनासो गर्ने नेपाललाई ओली स्वयं भेट्न निवास पुगेपछि नेपालले ओलीसँग केही नरम बन्ने संकेत गर्नुभएको छ ।
नेपाल मात्रै होइन नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्दै एमालेसँगको एकीकरण प्रक्रिया अघि बढाउनु पर्छ भन्दै नरम अभिव्यक्ति दिन थाल्नु भएको छ । तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने र त्यसलाई एकीकरणको प्रक्रियामा अघि बढाउनुपर्ने मत खनालको छ ।
वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरणसम्म जान समस्या नहुने उहाँको तर्क छ । उहाँले अहिले कम्युनिष्टहरु कमजोर किन भए भनेर सिंहालोकन गर्नुपर्नेसम्मको धारणा प्रस्तुत गर्दै आउनु भएको छ ।
त्यसो त केही समय अघि नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम सहभागी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले बाम एकता गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तत्कालिन नेकपा विभाजनपछि नेकपा एकीकृत समाजवादी बनेको थियो । त्यो पछि पहिलो पटक नेकपा (एमाले) को मुख्यालय पुग्नु भएका खनाललाई त्यतिबेला सञ्चारकर्मीहरुले पहिलो पटक आफ्नो पुरानो पार्टीको मुख्यालय आउँदा कस्तो लागिरहेको छ भनेर प्रश्न गर्दा उहाँले खुशी लागेको बताउनुभएको थियो ।
‘नेकपा (एमाले)ले मलाई कार्यक्रममा निम्ता गर्यो । यो पहिलो निम्ता हो,’ उहाँले भन्नुभएको थियो, ‘त्यसकारण नेकपा (एमाले)लाई म धन्यवाद दिन चाहन्छु । मलाई निम्ता गरेर एमालेले नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्तव्य दिने अवसर जुटाइ दियो । त्यसका लागि फेरि धन्यवाद ।’
खनाल पहिलादेखि नै एमालेसँग नरम भए पनि नेपाल भने नरमरुपमा खासै प्रस्तुत हुनुभएको थिएन । पछिल्लो राजनीतिक घटनाक्रमसँगै खनाल र नेपाल नै एमालेसँग थप नरम बनेपछि खनालले भनेजस्तै तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने र त्यसलाई एकीकरणको प्रक्रियामा अघि बढाउने राजमार्ग खुलेको छ । यो राजमार्गलाई नेताहरुले कत्तिको फराकिलो बनाउने हुन् त्यो भन्ने हेर्न बाँकी नै छ ।