नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

काठमाडौँ, २३ फागुन । नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।

बुधबार नेप्से परिसूचक ९.३३ अंक बढेर २०१७.०३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३०८ स्टकको ५८ हजार ९४० पटकको कारोबारमा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन स्वरोजगार लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने गोर्खाज फाइनान्स र सिवाईसी लघुवित्तको शेयरमूल्य ८ प्रतिशत बढेको छ। यस दिन मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको करिब २८ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।