अभिभावकीय भूमिकामा एमालेः गठबन्धनको ठूलो दल भए पनि कमजोर मन्त्रालयमै सहभागी

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेससँगको गठबन्धन टुटेपछि नेकपा (एमाले) को अगुवाईमा बनेको नयाँ गठबन्धनमा एमालेले मन्त्रालय बाँटफाँटमा त्याग गरेको छ । गठबन्धनको सबै भन्दा ठूलो दल भए पनि एमालेले प्रधानमन्त्री र शक्तिशाली मन्त्रालय बिनै सरकारमा आफूलाई सहभागी गराएको छ ।

सरकारमा भाग खोज्ने भन्दा पनि सरकार टिकाउने उदेश्यले एमालेले जिम्मेवार भूमिका खेल्दै शक्तिशाली मन्त्रालय अन्य दललाई नै दिएर सरकारमा सहभागी भएको हो । एमालेसँग प्रधानमन्त्री मात्रै होइन यो पटकको सरकार गठनमा गृह, अर्थ, परराष्ट, सञ्चार, पर्यटन जस्ता शक्तिशाली मन्त्रालय छैनन् ।

तर, नेपालको अस्थिर राजनीतिलाई सही दिशामा अघि बढाउन एमालेले अभिभावकीय भूमिका खेल्दै सामान्य मन्त्रालयहरुमा आफ्नो उपस्थिति जनाएको छ । मन्त्रालयकै कारण गठबन्धनमा झमेला नहोस् भन्ने उदेश्यले एमालेले गठबन्धनमा सहभागी अन्य दललाई मुख्य मन्त्रालयको जिम्मेवारी दिएर अन्य मन्त्रालय लिएको छ । एमालेको भागमा परेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी अब सचिव रघुवीर महासेठले सम्हाल्नु भएको छ ।

उहाँले उपप्रधानको समेत जिम्मेवारी पाउनु भएको छ । दुई पटक सांसद बन्नु भएका धनकुटाका राजेन्द्रकुमार राईले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ भने पर्वतबाट दुई पटक सांसद बन्नुभएका पदम गिरीले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । बलराम अधिकारीले बलराम अधिकारी, भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउँदा भगवती चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारीमा रहँदा हरि उप्रेती, रक्षा र ज्वालाकुमारी साहको भागमा कृषि मन्त्रालय परेको छ । एमालेबाट यो पटक मन्त्री बनेका महासेठ र अधिकारी बाहेक पुस १० गते एमाले–माओवादी केन्द्रबीच गठबन्धन हुँदा पनि मन्त्री बनेका अनुहार हुन् ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री, वर्षमान पुन, अर्थमन्त्री, शक्तिबहादुर बस्नेत, ऊर्जा तथा सिँचाइ मन्त्री, रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री, हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री को जिम्मेवारीमा रहनु भएको छ । माओवादीसँग प्रधानमन्त्रीको पनि जिम्मेवारी रहेको छ । प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समापति रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री र डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारीमा रहनु भएको छ । नयाँ मन्त्रीहरूको शपथ आजै अपराह्न ५ बजे गर्ने तयारी रहेको छ ।