ढोक्सामा माछा पारेका देउवालाई प्रचण्डले ‘धोका’ दिनुका यस्ता रहेछन् दर्जन कारण

काठमाडौं, २४ फागुन । २०७९ सालको पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्दासम्म पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गठबन्धन टुटिहाल्छ भन्ने भेउ थिएन ।

ओलीसँग दूरी बढाएपछि देउवासँग नजिक हुनुभएका प्रचण्डले यति छिटो धोका दिइहाल्छन् भन्ने विश्वासमा नरहेका कारण देउवाले प्रचण्डको पुस ११ को बालकोट यात्रालाई सामान्य रुपमा नै लिनुभएको थियो । तर, जब त्यहि दिन प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबिच सहमति जुट्यो र त्यो समाचार सञ्चारमाध्ययमबाट चर्चित बन्यो । देउवा जिल्लराम हुनुभयो ।

सरकार गठनका लागि राष्ट्रपति कार्यालय जानुअघि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले बालकोटको बार्दलीबाट हात हल्लाउँदै समर्थकहरुलाई अभिभावदन गरेको तस्बिर त्यतिबेला निकै चर्चित बनेको थियो ।

चुनावपछिको पहिलो प्रधानमन्त्री आफू बन्नुपर्ने अडानमा रहनु भएका प्रचण्डले त्यतिबेला कांग्रेसले धोका दिएको भन्दै एमालेको साथ खोज्दै बालकोट यात्रा तय गर्नुभएको थियो ।

ओलीले त्यतिबेला प्रचण्डलाई सजिलै साथ दिनुभयो । एकाएक धोका दिएर प्रचण्डले बालकोट यात्रा तय गर्दा पनि त्यतिबेला देउवा प्रचण्डसँग त्यतिधेरै असन्तुष्ट बन्नुभएको थिएन । त्यसो त कांग्रेस बिना नै बहुमतको समर्थनमा रहनु भएका प्रचण्डलाई त्यतिबेला कांग्रेसले संविधानको रक्षाको पक्षमा प्रचण्ड उभिने विश्वास र राष्ट्रिय मुद्दामा एक ठाउँमा हुनुपर्ने आवश्यकता भन्दै विश्वासको मत दिने निर्णय गरेको थियो ।

त्यति मात्रै होइन राष्ट्रपतिको दौडमा रहनु भएका रामचन्द्र पौडेलले त्यतिबेला संसद् जोगाउनकै लागि कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको दाबी गर्नुभएको थियो ।

पुस १० गते एमालेलगायतको दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले त्यसको १६ दिनपछि अर्थात पुस २६ गते विश्वासको मत लिनुभएको थियो । त्यतिबेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जना सांसदले प्रचण्डलाई समर्थन गरेका थिए ।

प्रचण्डले धोका दिदाँ पनि कांग्रेसले नरम शैली अपनाएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपछि ओलीले त्यतिबेलै केही आशंकाहरु व्यक्त गर्नुभएको थियो ।
संसद्को पहिलो बैठकलाई सम्वोधन गर्दै ओलीले त्यसैबेला आशंका मिश्रित भनाई राख्दै भन्नुभएको थियो । ‘यदि यो समर्थनभित्र सदाशयताबाहेक अरू कुरा छैन भने यदि यो समर्थन कुनै जाल होइन, ढोक्सा होइन भने स्वागतयोग्य छ,’ उहाँले थप भन्नुभएको थियो, ‘जाल हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ । भोलिका निम्ति अरू कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ ।’

तर, ओलीले भने जस्तो कांग्रेसको ढाक्सा त्यतिबेला रित्तै भएन । माओवादीले दुई महिना पनि वित्न नपाउँदै एमालेसँगको गठबन्धन तोडिदियो । माओवादीसँग दरार उत्पन्न भएपछि एमाले फागुन १५ गते सरकारबाट बाहिरियो । गठबन्धन टुटाएपछि प्रचण्डले कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई समेटेर चैत १७ गते पहिलो मन्त्रिमण्डल विस्तार गर्नुभयो । कांग्रेस–माओवादी गठबन्धन रहेकै बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभयो ।

२०७९ चैतबाट कांग्रेसँग भएको सहकार्यलाई प्रचण्डले फेरि एक वर्ष पनि वित्न नपाउँदै तोडिदिनुभएको छ । अर्थात फेरि प्रचण्डले आफ्नो नेतृत्वको सरकारको निरन्तरताका लागि एमालेको साथ माग्नुभयो । एक वर्षमै दुई पटक धोका दिएपछि कांग्रेस सभापति देउवा प्रचण्डसँग निकै रुष्ट बन्नुभएको छ । उहाँले प्रचण्डलाई धोकेवाजको संज्ञा समेत दिनुभएको छ ।
तर, प्रचण्डले भने आफू धोकेबाज नभएको भन्दै कांग्रेससँग सम्बन्ध टुटाउनुका करीब दर्जन हाराहारी तथ्यहरु संसदमा सार्वजनिक गर्नुभएको छ । उहाँले कांग्रेसँगको सम्बन्ध टुटाउनुमा सबैभन्दा प्रमुख कारण चुनावमा माओवादीले कांग्रेसको सहयोग नपाएको उल्लेख गर्नुभयो ।

माओवादीले निर्वाचनमा खुलेर सहयोग गरे पनि कांग्रेसले त्यसो नगरेको प्रचण्डले गुनासो गर्नुभयो । निर्वाचनमा नै आपसी विश्वास कमजोर बनाएको कांग्रेसले निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिको समेत पालना नगरेको उहाँको आरोप छ । गत माघ ११ मा भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवारलाई कांग्रेसले सहयोग नगरेको र माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित हुनु परेको गुनासो पनि प्रचण्डको रहेको छ ।

कोशी प्रदेशमा कांग्रेस सांसद केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेको विषयलाई पनि प्रचण्डले गठबन्धन टुट्नुको प्रमुख कारण बनाउनु भएको छ । कांग्रेस नेता शेखर कोइरालानिकट सांसदहरुले विद्रोह गरेर कार्कीलाई मुख्यमन्त्री बनाएका थिए । तर, त्यतिबेला कांग्रेसले ती सांसदलाई दण्डित नगरेको गुनासो पोख्नुभयो । व्यक्तिका रूपमा कांग्रेसले आफूलाई अविश्वास नगरे पनि राजनीतिक परिणाम निर्णायक भएको पनि उल्लेख गर्नुभयो ।

११ महिना कांग्रेससँग सहकार्य भएको भन्दै प्रचण्डले सभापति देउवालाई धन्यवाद दिदैँ भन्नुभयो– ‘राजनीतिमा व्यक्तिगत सम्बन्ध भन्दा राजनीतिक परिणामहरू निर्णायक हुँदा रहेछन्, अघिल्लो गठबन्धनमा पनि त्यही भयो ।’

प्रचण्डले नेपाली कांग्रेसको ललितपुर गोदावरीमा फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर चलाएको विषयलाई पनि नरुचाएको र गठबन्धन तोड्न बाध्य भएको उल्लेख गर्नुभयो ।

‘महासमिति बैठकमा बिना सन्दर्भ गठबन्धनको निन्दा गरेको विषयलाई पनि प्रचण्डले पचाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले गठबन्धनले नै कांग्रेसलाई पहिलो पार्टी बनाएको उल्लेख गर्दै निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन गरेको भन्दै गठबन्धन टुट्नुको अर्को कारण त्यो भएको उल्लेख गर्नुभयो । त्यसलाई उहाँले अविवेकपूर्ण र अराजनीतिक गतिविधि भएको आरोप लगाउनुभयो ।

कांग्रेस महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्तावले पनि उहाँलाई घोचेको रहेछ । उहाँले महासमितिमा धर्मका नाममा चलाएको हस्ताक्षरले संविधान प्रतिबद्धतामा आशंका उत्पन्न भएको र गठबन्धन टुटाएको उल्लेख गर्नुभयो । महासमिति बैठक स्थलअगाडि धर्मका नाममा स्टल राखेर हस्ताक्षर चलाएको भन्दै उहाँले सम्वोधनका क्रममा असन्तुष्टि व्यक्त गर्नुभयो । कांग्रेस महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गर्दा ‘जनयुद्ध’ का प्रसंग उल्लेख गर्नुभएको थियो । त्यो प्रस्तावमा ‘जनयुद्ध’ को न्यूनीकरण र दानवीकरण गरिएको उहाँको गुनासो रहेछ ।

उहाँले गठबन्ध टुटाउनुमा आफूलाई प्रधानमन्त्रीका रूपमा न्याय नगरिएको गुनासो समेत गर्नुभयो । परिवर्तन, सुशासन र समृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा आफूलाई न्याय नगरेका कारण पनि गठबन्धन टुटाउनु परेको उहाँको भनाई थियो । देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा आफूले पहिल्यै गरेको भन्दै आफ्नो प्रतिवद्धतामा गठबन्धनका केही घटकबाट अपेक्षित साथ नपाएको पनि उहाँले गुनासो गर्नुभयो ।