केदारनाथको शिर डोलेश्वरमा नागा बाबासहित साधुसन्तहरु (६ तस्बिर)

भक्तपुर, २५ फागुन । महाशिवरात्रि पर्वको अवसरमा आज भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीबाट साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज शिवरात्रिका दिन मन्दिरको चारैवटा ढोका खुला गरिएको छ । डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको र दर्शनार्थीले चारैवटा ढोकाबाट प्रवेश गरेर मन्दिरभित्र प्रवेश गरेर आफैँले पूजा गर्ने व्यवस्था गरिएको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
मध्यराति मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि बिहान ४ बजेदेखि दर्शनार्थीको आगमन भएको जानकारी दिँदै उहाँले बिहानैदेखि लामबद्ध भक्तजनका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
अरु दिन  मन्दिरभित्र प्रवेश गर्न नपाइने भएपनि आजको दिन भने दर्शनार्थीले मन्दिर भित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाईएको बताउदै उहाँले राती ७ बजेसम्म मन्दिरमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।  आज रातभर जाग्राम बस्ने र धुनी जगाउने व्यवस्था गरिएको छ ।
नागा बाबासहित ३०० भन्दा बढी साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउने व्यवस्था गरिएको जानकारी दिँदै मन्दिरमा लाईन बसेको आधाघण्टा भित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो । मन्दिरमा आउने भक्तजनलाई निःशुल्क भोजन तथा प्रसादीको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले बिहानैदेखि स्वास्थ्य शिविरको व्यवस्था गरेको छ ।
यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा दर्शनार्थीको भीड लागेको हो । त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्श्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं. ५ स्थित अनन्तलिङ्श्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं. १० चित्तपोल साँगास्थित अग्लो महादेवको रुपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यबस्था गरिएको जनाइएको छ ।