२९औं सचिवालय बैठकः आगामी बैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने निर्णय
काठमाडौं, २५ फागुन । नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद् बैठक आगामी बैशाख ८ र ९ गते बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको पार्टीको २९औं सचिवालय बैठकले उक्त निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी गराउनुभयो ।
पार्टीले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं बर्ष ९हिरक बर्ष०मा विभिन्न महत्वपूर्ण कार्यक्रम र काम गरी मनाउने निर्णय यस अघि नै गरिसकेको र आगामी बैशाख १० गते पार्टी स्थापनाको दिन देशभरका अगुवा कार्यकर्ताको सहभागिता हुने गरी काठमाडौंमा विशेष समारोह गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा देशको सत्ता समीकरणमा आएको परिवर्तनका सन्दर्भमा पनि छलफल भएको र यसलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको छ । मुलुकलाई आजको सङ्कटको अवस्थाबाट सकारात्मक दिशामा अगाडि बढाई जनतामा आशा र विश्वास जगाउन पार्टीको तर्फबाट सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पाँच राजनीतिक दलहरू एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी सामेल भएर सरकार निर्माण गरिएको हुँदा यस प्रक्रियामा अन्य राजनीतिक दलहरूको पनि साथ र समर्थनका लागि पार्टीले अनुरोध गरेको छ ।
बैठकपछि महासचिव पोखरेलले आज ८ मार्च–अन्तर्राष्ट्रिय महिला दिवस, महाशिवरात्रि र सेना दिवस परेकाले यस अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।