मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित
काठमाडौँ, २६ फागुन । मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङ्कङसँग पराजित भएको छ । हङ्कङले नेपाललाई ७३ रनले पराजित गरेको हो ।
हङ्कङमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङ्कङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो । दुई सय १३ रनको लक्ष्य पाएको नेपालले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि विनोद भण्डारीले २२ बलमा ४१ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३० रन र आरिफ शेखले ३८ रन बनाए ।
यसअघि हङ्कङका लागि बाबर हयातले अद्र्धशतकीय पारी खेले । उनले ४९ बलमा तीन चौका र १३ छक्काको मद्दतमा एक सय १० रन बनाए । यस्तै मार्टिन कोइत्जीले ३१ र अंशी राथले ३९ तथा अजिज खानले अविजित २१ रन बनाए । बलिङतर्फ नेपालका लागि आजैको खेलमा टी–२० क्रिकेटमा डेब्यु गरेका आकाश चन्दले तीन विकेट लिए ।
त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङ्कङ गएको थियो । नेपाल, हङकङ र पपुवा न्यूगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङ्कङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङ्कङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्यूगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।