राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा दाहाल र शर्माले गरे उम्मेदवारी दर्ता

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षका लागि नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र माओवादी केन्द्रका तर्फबाट सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार संसद भवनस्थित ल्होत्से हलमा दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह रहेका छन् ।

भोलि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।