२३औँ निरंकारी सन्त समागम भव्य रूपले मनाइदैं
भक्तपुर, ३ चैत । भक्तपुरमा शनिबारदेखि सुरु भएकाे २३औँ निरंकारी सन्त समागम भव्य रूपले मनाइदैं छ । ‘एकलाई जान, एकलाई मान र एक होऔँ’ भन्ने मूल नाराका साथ विश्वभर सञ्चालित निरंकारी समागम भव्य रूपमा भइरहेकाे सन्त निरंकारी मण्डल भारत दिल्लीका विदेश विभाग इञ्चार्ज विनोद बोहराले जानकारी दिनुभयो ।
समागमस्थल भक्तपुरको सल्लाघारीस्थित चौरमा व्यवस्थित तरीकाले यस अभियानमा सबै धर्म, विचार, जातिको सहभागिता रहेको जनाउँदै भारतबाट नौ हजार, अन्य देशबाट पाँच हजारसहित करिब ५० हजार अनुयायी सहभागी हुने बोहराले बताउनुभयो ।
बोहोराले यो अभियान कुनै धर्म प्रचार नभएको बताउँदै एकले अर्कालाई चिन्ने, जान्ने, मान्ने र अन्र्तमनबाट परमात्मालाई चिन्दै सबै एक भएर विश्वलाई शान्त र सुन्दर बनाउने उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
“नेपालमा हुने सन्त समागममा प्रवचन दिन सत्गुरु माता सुदीक्षाजी महाराजको आगमन ३ बजे भएकाे बोहराले बताउनुभयो । उहाँले शनिबार बिहान ११ बजेदेखि सुरु भएकाे कार्यक्रम आइतवार बेलुकीसम्म हुने बताउनुभयाे ।
सल्लाघारी भक्तपुरस्थित नेपाल ट्रस्टकाे नाममा रहेको एक सय आठ रोपनी क्षेत्रफलमा गरिएकाे चौरमा अनुयायीका लागि निःशुल्क खाने, बस्ने तथा शौचालयको व्यवस्था गरिएको उहँले बताउनुभयो ।
उहाँले समागमका लागि भारतबाट आएका करिब एक हजार एक सय सुरक्षा स्वयंसेवक खटिएकाे नेपालबाट सात सय महिला र पाँच सय पुरुष गरी एक हजार दुई सय सुरक्षा स्वयंसेवक परिचालन भएकाे बताउनुभयो ।
एक सयभन्दा बढी देशमा सञ्चालनमा रहेको यस अभियानमा नेपालमा यसअघि सन् २०१७ मा टीकापुरमा भएको थियो । अभियान अनुयायीबाट प्राप्त स्वेच्छिक अनुदानबाट सञ्चालन भएको उहाँको भनाइ छ ।