बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ पालिका

इलाम, ४ चैत । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो ।

“कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रवर्द्धनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ”, वडाध्यक्ष भूपाल योङहाङले रासससँग भन्नुभयो, “तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरेका छौँ ।”

पहिलो चरणमा वडा कार्यालयले एग्रो इलामसँगको समन्वयमा कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउ वितरण गरेको छ । सहकारी संस्थामार्फत साझेदारी मोडेलमा बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष योङहाङले जानकारी दिनुभयो । उहाँका अनुसार वडाभित्रका २८ किसानलाई अनुदानमा १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराएको छ ।

उत्पादन भएको बेसार सहकारी संस्थामार्फत एग्रो इलामले नै खरिद गर्नेछ । सुरुमा २८ किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइनेछ र पर्याप्त उत्पादनपछि बाहिर निकासी थालिने वडाध्यक्ष योङहाङले बताउनुभयो ।

उत्पादन सुरु भएपछि बेसारलाई ‘ब्राण्डिङ’ गरेर बाहिर निकासी गरिने सम्झौतापत्रमा उल्लेख छ । “उत्पादित बेसार प्रशोधन गरी प्याकेजिङमा तीनै नाम र लोगो समावेश हुनेछ । साथै समग्र माङसेबुङ गाउँपालिका वा १ नं वडाको पहिचान/अपनत्व झल्कने गरी ब्राण्डिङ गरिनेछ”, वडाध्यक्ष योङहाङले भन्नुभयो । बेसार गाउँपालिका र जिल्ला बाहिर निर्यात गरी किसानलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याइएको वडाध्यक्ष योङहाङले जानकारी दिनुभयो ।

इलाममा बेसारको राम्रो उत्पादन हुँदै आएको छ । यस वर्ष इलाममा एक हजार नौ सय सात मेट्रिक टन बेसार उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिनुभयो । बेसार १० गुणा बढी फल्ने किसान बताउँछन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने किसानको भनाइ छ ।

बेसारको नियमित प्रयोगले चिसोबाट बच्न सकिने आयुर्वेदका जानकार बताउँछन् । उनीहरूका अनुसार शरीरका हरेक अङ्गलाई फाइदा पुर्याउने स्वास्थ्यवद्र्धक मानिएको जडीबुटीमा बेसार बहुउपयोगी औषधि हो । ‘एन्टिबायोटिक’ बनाउँदा बेसारको प्रयोग हुने गरेको छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नका साथै ‘इन्फेक्सन’बाट पनि बचाउँछ ।