फागु पर्व सुरक्षित र मर्यादित बनाउन उपत्यकाका ९० स्थानमा चेकजाँच, ९०० बढी ट्राफिक खटिने

काठमाडौं, १० चैत । फागु पर्व सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिने भएकाे छ ।

ट्राफिक प्रहरीले फागु पर्व (होली)मा उपत्यकाका सडकहरूमा ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी गरेकाे हाे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठका अनुसार होली पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि यस वर्ष काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ ।

एसएसपी श्रेष्ठले भन्नुभयाे, उपत्यकामा ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाइन्टसमेत हुनेछ। सुरक्षा योजना अनुसार मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गरिनेछ । यसका लागि करिब एक हजार जना ट्राफिक प्रहरी खटिने उहाँले बताउनुभयाे ।

ट्राफिक प्रहरीले विशेषगरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ चेकजाँच गरिने साथै अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्ने, झै-झगडागर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन एसएसपी श्रेष्ठले बताउनुभयाे ।