कीर्तिमानी सङ्गीतकार श्रेष्ठद्वारा कवि शिरोमणि पौड्यालको गजल ‘हे मातुभूमि’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, १२ चैत्र । विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा कवि शिरोमणि लेखनाथ पौड्यालले रचना गर्नुभएकाे गजल ‘हे मातृभूमि’ श्रव्यदृश्यसहित सार्वजनिक गरिएको छ ।

लेखनाथ साहित्य भवन सोह्रखुट्टे काठमाडौमा नेपाली साहित्य परिषद्को आयोजनामा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीत र स्वरबद्ध गरिएकाे हे मातृभूमि … ( गजल लालित्य भाग २ ) श्रव्यदृश्य सार्वजनिक गरिएको हाे ।

कार्यक्रममा सङ्गीतकार श्रेष्ठसहित साहित्यकार डा.कृष्णहरि बराल, प्राध्यापक रमा शर्मा, त्रिभुवन विश्वविद्यालय संगीत विभागका पूर्वप्रमुख संगीता प्रधान, भिडियो निर्देशक हेम प्रभास लगायतकाले गजलको श्रव्य/दृश्य सामग्रीको सामूहिकरूपमा सार्वजनिक गर्नुभएकाे हाे ।

कीर्तिमानी सङ्गीतकार, गायक सन्तोष श्रेष्ठले अग्रजहरूप्रति श्रद्धा र सम्मानका साथै अग्रज स्रष्टाहरुको सिर्जनालाई दस्तावेजीकरणका लागि उहाँहरूकाे सृजनामा स्वर र संगीत गरिएकाे बताउनुभयाे ।

श्रेष्ठले यसअघि महाकवि लक्ष्मी प्रसाद देवकोटाका शताब्दी पुरानो गजल ‘आकाशमा शशी छन’मा आफ्नो संगीत तथा स्वर मार्फत बजारमा ल्याइसक्नुभएकाे छ । त्यस्तै उहाँले सत्यमोहन जोशीको शब्द रहेको ‘माया रानीलाई’, राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्द रहेको ‘पश्चिम रुन्छ महाकाली’लाई आफ्नो संगीत तथा स्वर मार्फत बजारमा ल्याइसक्नुभएकाे छ ।

कार्यक्रममा प्रा.डा. बरालले आफूले विद्यावारिधिको शोध गर्ने क्रममा फेला पारेको कवि शिरोमणि लेखनाथ पौड्यालको गजल सन्तोष श्रेष्ठले सङ्गीत र स्वर दिनुभएकाेमा एकदम खुसी लागेको बताउनुभयाे ।

नेपाली शिक्षा परिषद्का अध्यक्षसमेत रहनुभएका समालोचक प्रा. रमा शर्माले सङ्गीतकार सन्तोष श्रेष्ठले लेखनाथलाई गजलकारका रूपमा समेत चिनाउन गरेकाे प्रयत्न सराहनीय भएकाे बताउनुभयाे ।