ढोलाहिटी चक्कु प्रहार घटना : प्रहरीले सार्वजनिक गर्याे चार आरोपी, एकजना अझै फरार

काठमाडौं, १३ चैत्र । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा फागू पुर्णिमाको राति भएको घटनामा संलग्न भएका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

ललितपुरकाे ढोलाहिटीमा सञ्चालन गरिएकाे डी पोपिना खाजाघरमा फागु खेलेर मदिरा सेवन गर्ने क्रममा दुई फरकफरक समूहका युवाहरूबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न मुख्य चार जनालाई ललितपुर प्रहरीले सार्वजनिक भएको हो ।

खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राई, भोजपुर ट्याम्केमयुङ–२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरिएको हो ।

घटनामा वारदात पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार पक्राउ परेका विजय राई यसअघि लागुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् । घटनाको अनुसन्धानका लागि थप अरुकेही व्यक्ति पनि प्रहरी नियन्त्रणमा भएकाे प्रहरीले जनाएकाे छ ।